झापा,२६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने ११ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाएका ११ जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको थियो भने थप तीन जनाको शव दुर्घटनास्थलबाट फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। दुर्घटनास्थलमा शव फेला परेका थप तीन जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा सवार कुल २० जनामध्ये १४ जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएको पुष्टि भएको छ ।
दुर्घटनामा गाडी चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशङ्करकुमार मण्डलको पनि मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले बताए।
त्यस्तै, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, सात वर्षीया दीक्षा यादव, पाँच वर्षीया दिपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३६ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री देवी, २६ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको ज्यान गएको छ।
डीएसपी काफ्लेका अनुसार पुनम, विवेक, दीक्षा, दिपिका र अनु एउटै परिवारका सदस्य हुन्। दिक्षा, दिपिका र अनु पुनमका छोरी हुन्।
दुर्घटनामा घाइते भएका ६ जनालाई उद्धार गरी हेटौँडा अस्पताल पु¥याइएको थियो। घाइतेमध्ये सर्लाही चक्रघट्टा–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन्।
त्यस्तै, तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदीप यादवलाई लाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल रिफर गरिएको छ। ३१ वर्षीय ‘बेचु’ भनिने देवेन्द्र रायलाई थप उपचारका लागि चितवनको मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस सडकबाट करिब पाँच सय मिटर तल भिरमा खसेको थियो। छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका थिए।
एउटै टोलका साथीभाइ मिलेर गाडी रिजर्भ गरी काठमाडौँबाट सर्लाही फर्किने क्रममा दुर्घटना भएको घाइतेले बताएका छन्। यात्राका क्रममा अधिकांश निदाइरहेका थिए। गाडी भिरमा खसेपछि मात्रै दुर्घटनाबारे थाहा पाएको उनीहरूको भनाइ छ।