दमक,२८ असार । दमक ३ दोघरे निवासी साँस्कृतिककर्मी क्यान्सर पीडित नेत्रकुमारी धिमालको उपचारमा सहयोगका लागि अमेरिका बस्दैआएका दमकेलीहरुले रु १ लाख २१ हजार ९ सय रुपैयाँ सहयोग उपलव्ध गराएका छन् ।
अमेरिकाको लसएन्जलमा बस्दैआएका दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुदिप पन्त , लसएञ्जल्स– दमक सम्पर्क समितिकी अध्यक्ष शारदा श्रेष्ठको अभियानमार्फत क्यान्सर पीडित धिमालको उपचारमा सहयोग पुरयाँउन उक्त सहयोग रकम पठाईदिएका हुन् । विरामीको उपचारमा याचना सम्बन्धी समाचार विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि अमेरिका बस्दैआएका करिव डेढ दर्जन मनकारी प्रवासी दमकेलीहरुले स्वेच्छिक सहयोग संकलन गरेका थिए ।
उक्त सहयोग रकम आज विरामीको घरैमा पुरेर नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका कोषाध्यक्ष बिमल लामिछाने, निष्कर्ष न्यूज पत्रिकाका सम्पादक बिष्णु पौडेललगायतकाले पीडितकी सासुआमा शान्तिदेवी धिमाललाई हस्तान्तरण गरेका थिए ।
यसैगरि, लायन्स क्लव अफ दमक बिग बुद्धले पनि विरामी धिमालको उपचारका लागि रु २६ हजार २५ रुपैँया रकम हस्तान्तरण गरेको थियो ।
भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईआएकी ३६ बर्षिया धिमालको उपचारमा सघाँउ पुरयाँउन हेतुले धिमाल जातिय बिकास केन्द्रले पनि स्वेच्छिक अभियान सञ्चालन गरिआएको र सहयोग जुट्ने क्रम बढ्दै गएको सदस्य मणिराज धिमालले बताए ।