स्थानीय तह निर्वाचन : मौन अवधि सुरु, प्रचारप्रसार बन्द

झापा,२७ बैशाख । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा गएरातिदेखि मौन अवधि सुरु भएको छ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ।

नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहने जनाएका छन् ।

आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै

नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ । ‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आम संचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रव्यदृश्य माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेका छन्,’ उनले भने ।

वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ ।

शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ ।

मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध

स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ अनुसार आजदेखि मतदान सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । मदिरा सेवनबाट झैझगडा तथा मतदातालाई प्रभावित पार्न सक्ने भन्दै आयोगले मौन अवधिमा मदिराको बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो ।

सीमानाका बन्द

निर्वाचन सुरक्षालाई ध्यान दिँदै देशका सीमानाका बन्द गरिएको छ । अन्तर्राष्ट्रिय उडान भने रोकिएको छैन । निर्वाचनका दिन आन्तरिक उडान र अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

आचारसंहिता उल्लङ्घनमा कारबाही जारी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिताविपरीत भएका कार्य हटाउन आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्य भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको आयोगले जनाएको छ ।

आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लङ्घनका घटनामा तत्काल कारबाही गर्नसक्ने अधिकार समेत नेपाल सरकारका सहसचिवको नेतृत्वमा १९ वटा उच्चस्तरीय टोली तुलनात्मकरूपमा संवेदनशील ठानिएका विभिन्न स्थानमा परिचालन गरेको छ ।

आँकडामा स्थानीय तह निर्वाचन

यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने छ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएकाबाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।

मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आ–आफ्नो मतदान केन्द्रमा पुगिसकेका छन् ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन । ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.