ओलीको क्षेत्रका सबै पालिकामा एमाले चुनाव हार्ने भएपछि खटपटी बढयो


दमक,२६ बैशाख ।झापाको निर्वाचन क्षेत्र नं ५ मा संयुक्त गठबन्धन तथा एमाले इतर पक्षले स्थानीय निर्वाचन जित्ने सुनिश्चित हुँदैगएपछि एमाले भित्र खटपटी बढेको छ ।
कतै राप्रपासहितको त कतै राप्रपाबाहेकको संयुक्त गठबन्धन एमालेले दाबी गर्दै आएको आफनो पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रभाव क्षेत्रमा हाबी हुने तथ्यले प्रष्ट पारिसकेको छ । क्षेत्र नं ५ को मुख्य पालिकाका रुपमा रहेको दमक नगरमा दोश्रो शक्तिका रुपमा रहेको राप्रपाका लोकप्रिय नेता राम थापा नगर प्रमुखको उम्मेदवार छन ।

उनलाई यहाँ कांग्रेस र माओवादी केन्द्रले समेत समर्थन जनाइसकेका छन भने उपप्रमुखमा कांग्रेस राजनीतिका अतिरिक्त सामाजिक क्षेत्रमा समेत अलग पहिचान बनाएकी लोकप्रिय नेतृ रेगिना भट्टराई प्रसाइँलाई राप्रपासहित माओवादी केन्द्रले समेत समर्थनसहित चुनावी प्रचार प्रसारमा सहभागिता जनाइरहेका छन ।
कतिपय साना दलहरुले समेत यहाँको नगर प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिएका भएपनि लामो समयदेखि स्थानीय शासन सत्तामा एमालेका जनप्रतिनिधि र तिनका आसेपासेहरुले गरेको रजाइँ, नगरपालिकाका कर्मचारी मार्फत अदृश्य रुपमा गरेको भ्रष्टाचार, अनियमितता विरुद्ध एक ठाउँमा उभिने संकेत गरिरहेका छन । यहाँको नगर प्रमुख-उपप्रमुख पदमा अघिल्लो निर्वाचनमा गठबन्धनमा आवद्ध विभिन्न दलहरुले प्राप्त गरेको मत र इतर पक्ष एमालेले प्राप्त गरेको मतको अन्तर ९ हजार हाराहारीमा रहेकाले पनि यहाँ संयुक्त गठबन्धनका उम्मेदवारहरुलाई जित हासिल गर्न सहज देखिन्छ । दमकसंगै जोडिएको कमल गाउँपालिकामा त अघिल्लो निर्वाचनमा कांग्रेस एक्लैले पालिका अध्यक्ष पदमा एमालेलाई बराबर मतको टक्कर दिएको थियो । अध्यक्षमा कांग्रेस एक्लैले एमालेसंगको प्रतिस्पर्धामा पाएको मतमा यसपटक संयुक्त गठबन्धनका अन्य पाँच दलले पाएको मत समेत थपिने निश्चित भएको र एमालेको मत एकीकृत समाजवादीले समेत काटने भएका कारण त्यहाँँ संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षका प्रत्यासी हुकुमसिंह राई र उपाध्यक्षका प्रत्यासी पर्शुराम सुवेदीको जित सुनिश्चित देखिएको हो । गौरादह नगरमा अघिल्लो निर्वाचनमा कांग्रेस एक्लैले नगर प्रमुख पद जितिसकेको छ । यसपटक पुन संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसका रोहितकुमार साह नगर प्रमुखको उम्मेदवार रहेका कारण जित सुनिश्चित रहेको छ ।

क्षेत्र नं ४ को समेत आंशिक भुभाग समेटने गौरीगञ्ज गाउँपालिकामा यसअघि राप्रपाले एक्लै अध्यक्ष पद जितिसकेको छ भने एमालेको पोजिशन सो पालिकामा यस अघिनै चौथो स्थानमा छ । यसपटक सो पालिकामा राप्रपाले पुन बाबुराजा श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ भने सबै दल अलग अलग प्रतिस्पर्धामा उत्रिएका छन । त्यहाँ गठबन्धनरहित चुनाव हुँदैछ । ओलीको निर्वाचन क्षेत्रमा चुनाव हार्ने निश्चित जस्तै आँकडा आएपछि ओलीको हेडक्वार्टरमा सम्बद्ध नेता, कार्यकर्ता तथा विश्लेषकहरुले चुनावमा रहेका चुनौतीका बिषयमा ओलीलाई ब्रिफिङ गरिसकेका छन । ब्रिफिङपछि अत्तालिएका एमाले नेता, कार्यकर्ताहरुले यहाँका पालिकामा अस्तित्व जोगाउनकै लागि भएपनि सबै उपायहरु अवलम्बन गर्न थालेका छन । एमाले सम्बद्ध पत्रकार तथा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुलाई विशेष रुपमा नै एमालेले परिचालन गरेर गठबन्धनका उम्मेदवारहरु विरुद्ध जथाभावी कपोलकल्पित सामग्रीहरु प्रायोजित रुपमा पैसा उपलब्ध गराएरै भएपनि लेखाउन थालेका छन भने ओली आफैं भोलीदेखि २९ गते सम्म यो क्षेत्रका पालिकाहरुमा चुनाव लक्षित दौडाहामा निस्किदैछन । उनी आउनु अघि उनका निकटतमहरु काठमाडौंबाट यस क्षेत्रमा आएर मतदाताहरु प्रभावित पार्न विभिन्न किसिमका लोभ प्रलोभन, जागिर दिने, घर दिने , भत्ताहरु दिने जस्ता आश्वासनहरु बाँडदै आफने पक्षमा तान्ने प्रयासमा लागेपनि धेरै ठाउँमा पुराना मतदाताहरुले एमालेलाई आफनो स्थानीय तथा केन्द्रीय सरकार सत्तामा छँदा नजिकका सिमित कार्यकर्ताहरुलाई मात्रै संरक्षण गरेको , लाभदायक ठाउँहरुमा अवसर दिएको भन्दै आलोचना गरेर फर्काइदिने गरेका छन ।

Leave a Reply

Your email address will not be published.