दमकमा कांग्रेसद्धारा वडाध्यक्षका उम्मेदवारहरु सिफारिस

दमक, १० बैशाख । नेपाली कांग्रेसले यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि दमकका दशवटै वडाका वडाअध्यक्षका उम्मेदवारहरु सिफारिस गरेको छ ।
पार्टी क्षेत्रीय समितिसहित क्षेत्रीय संसदीय बोर्डको बैठकले दशैवटै वडाका लागि आफना उम्मेदवारहरु नियमानुसार सिफारिस गरिएको जनाएको छ । जसअनुसार दमक १ मा गजु देवान, वडा नम्बर २ मा उद्धव दाहाल, ३ मा डिल्ली चापागाईँ, ४ मा पुण्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा मेनुका बुढाथोकी, ७ मा भुमिराज राई, ८ मा रवि केसी, ९ मा हरि सुवेदी र वडा नम्बर १० मा राजेन्द्र भण्डारीलाई सिफारिस गरिएको छ ।
ती मध्ये वडाबाट सिफारिस भएका दमक ६ ,८ र १० वडाका आकांक्षीका नाम भने फेरिएका छन् । स्रोतका अनुसार दमक ६ बाट पूर्ववडाध्यक्ष समेत रहेका क्षेत्रीय सभापतिका उम्मेदवार भएका रोशनकुमार गौतम र दमक ८ मा सभापति चन्द्र खत्रीको नाम काटिएका छन् भने दमक १० मा भने सिफारिस गरिएका कांग्रेस पूर्व जिल्ला कोषाध्यक्ष देवी प्रसाद दाहालले आफै आफनो दावीदेखि पछि हटेका छन् ।
दमकमा गठबन्धन नभएको अवस्थामा कांग्रेसले एक्लै उम्मेद्वार तय गरेको हो । कांग्रेसका बार्ता समितिका एक सदस्यका अनुसार सहमतिका लागि बार्ता जारी छ । उनका अनुसार सहमति नभएको खण्डमा कांग्रेसले एक्लै चुनावमा जाने छ । दमकमा राप्रपा, कांग्रेस विच गठबन्धनको तयारी भएपनि सत्ता साझेदार माओवादीले प्रमुख मागेपछि गठबन्धनमा संकट देखिएको हो । सत्ता साझेदार जसपा र नेकपा एकिकृत समाजवादी भने दमकमा गठबन्धनबाट बाहिर निस्केका छन् ।

हल्लाका पछि नलाग्न कांग्रेस सभापतिको आग्रह
कांग्रेस कमलका सभापति बुद्धि न्यौपानेले सामाजिक सञ्जालमा जथाभावी पार्टीको विषयमा आफनो धारणा नलेख्न कार्यकर्ता पंक्तिलाई आग्रह गरेका छन् । उम्मेद्वार सिफारिस विषयलाई लिएर सामाजिक सञ्जालमा जथाभावी प्रतिकृया जनाउने क्रम बढेपछि सभापति न्यौपानेले अनावश्यक हल्लाको पछि नलाग्न तथा मनपरी नलेख्न आग्रह गरेका हुन् ।
उनले पार्टीभित्र छलफल चलिरहेको र आधिकारिक निर्णय सार्वजनिक नहुन्जेल धैर्य गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
‘केहि साथीहरुले अनुमानका भरमा गम्भीर र आपत्तिजनक कुराहरु फेसबुकमा लेखेको पाइयो’ न्यौपानेले भने, ‘ति सब निराधार कुरा हुन, उम्मेद्वार चयनका विषयमा विवेकसम्मत निर्णयहरु आउने नै छन् । पार्टीको निर्णयको प्रतीक्षामा रहन सबैमा आग्रह गदैछौ ।’
पार्टीपंक्तिको मनोबल कमजोर बनाउने खेलमा नलाग्न, आम कांग्रेस कार्यकर्तालाई हतोत्साही बनाउने खालका फेसबुक पोष्टहरु तुरुन्त हटाउनपनि सम्बन्धित पक्षलाई सभापति न्यौपानेले आग्रह गरेका छन् ।
स्थानीय तहको चुनाव नजिकिएसंगै उम्मेद्वारी छनौटको विषयलाई लिएर कमल कांग्रेसका कार्यकर्ताबीच देखिएको अन्यौलका विषयमा न्यौपानेले स्पष्ट पारेका हुन् ।

Leave a Reply

Your email address will not be published.