
दमक,१ बैशाख । झापाको कमल ६ स्थित जिम्दार चोक आज सिरुवा सांस्कृतिक मेला लागेको छ । नयाँ बर्ष २०७९ को अवसर पारेर बर्सेनी आयोजना हुदैआएको सिरुवा मेला यसवर्ष पनि धुमधामका साथ लागेको हो ।
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको सिरुवा मेला यसवर्ष भने जोखिम केहि सहज भएसंगै मेला लागेको स्थानीय सत्यनारायण ताजपुरियाले बताए । उनका अनुसार विहानैदेखि मेला भर्न तीर्थालु तथा अवलोकनकर्ताहरुको बाक्लो उपस्थिति रहेको छ ।
प्रकृतिपूजक पूर्वका आदिवासी ताजपुरियासहित धिमाल,राजवंशी लगायतका जातिले नयाँ बर्षका दिन सामूहिक रुपमा सिरुवा पर्व मनाउदैआएको र त्यसै पर्वको अवसरमा बर्षोदेखि त्यहाँ सांस्कृतिक मेला लाग्दैआएको स्थानीय समेत रहेका नेपाल आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय महासचिव नित्यानन्द ताजपुरियाले बताए ।
उनका अनुसार विहानै त्यहाँको महाराजथानमा पूजाआजा गर्नुका साथै एकापस हिलो खेलेर शुभकामना आदानप्रदान गरिएको छ । पर्वमा लाग्दैआएको सांस्कृतिक मेलामा ठुलो संख्यामा दर्शानार्थीहरुको घुईचो लागेको छ । मेलामा स्थानीय घरेलु उत्पादन तथा खेल तमासाहरु राखिएका थिए । यी आदिवासी बाहुल्य रहेका झापा र मोरङको बस्तीमा आज भने सांस्कतिक मेला लाग्दैआएको छ ।