
गौरादह,९ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको गौरादह ३ स्थित पार्टी कार्यालय भवनको आज शिलान्यास गरेका छन् ।
पार्टी कार्यालय भवनका लागि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले २ कठठा जमीन निशुल्क उपलव्ध गराएको जमीनमा आज एक कार्यक्रमका बीच उनले पार्टी कार्यालय भवनको शिलान्यास गरे ।
भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दे महामन्त्री शर्माले पार्टी भवन पूरा गराउन सवैको सहयोग हुनुपर्ने बताए । पार्टी र परिवार एक भएको चर्चा गर्दे उनले परिवार सक्षम,सवल भएमात्र समाजको नेतृत्व गर्न सक्ने औल्याए । पार्टी भवनलाई जनताको भावना बुझने घरका रुपमा स्थापित गराउन पनि उनले सुझाव दिए ।
राजनीतिलाई सेवासंग जोडनुपर्ने औंल्याउदै उनले भने ,–‘ राजनीतिलाई बदनाम हुनबाट जोगाउन ,यसका लागि हाम्रो भूमिका सकरात्मक हुन जरुरी छ । ’
महामन्त्री शर्माले एक फरक प्रंसगमा अमेरिकी सहयोग परियोजना एमसीसीका बिषयमा नक्कली राष्ट्रवाद धेरै छताछुल्ल भइसकेको टिप्पणी गरे । एमसीसी नेपाल आउँदैमा अमेरिकी सेना नआउने जिकिर गर्दै देशको भौतिक पूर्वाधार बिकास अपरिहार्य भएको र त्यसका लागि पर्याप्त बजेटको आवश्यक भएका कारण यो नेपाल र नेपालीको हितमा भएको उनको भनाई थियो ।
एमसीसी अघि बढाउँदै गर्दा दुई दर्जन देशहरुमा कार्यान्वयन भएको एमसीसी परियोजनाका बिषयमा समेत गहन अध्ययन र विश्लेषण गर्नु आवश्यक भएको उनको विचार थियो ।
पार्टी कार्यकर्ताहरुको सहयोगबाट आफनो कार्यकाल भित्रमा कार्यालय भवन निर्माण गरिसक्ने वडासभापति गोपाल बरालले बताए ।
शिलान्यास समारोहमा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारी, महाधिवेशन प्रतिनिधि समेत रहेका गौरादह नगर प्रमुख रोहितकुमार साह लगायतले मन्तव्य राखेका थिए ।