
कन्काई , ८ फागुन। कन्काई नगरपालिकाको गेट अगाडि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालिक निर्माण गरिएको छ । कन्काई नगरपालिकाले आफ्नो लगानीमा साढे ७ फुटको ढुङ्गाको शालिक निर्माण गरेको हो ।
७२ औं प्रजातन्त्र दिवसको अवसर पारी पूर्व प्रदेशमन्त्री तथा प्रदेश सांंसद हीराकुमार थापा र कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विशेष कार्यक्रमवीच शाहको शालिकको अनावरण गरे । कलाकार हिम्मत नेम्बाङद्वारा ३ महिना लगाएर निर्माण गरिएको सो शालिकलाई नेपालमा भएको सबैभन्दा ठूलो शालिक भएको दावी गरिएको छ ।
राजा महाराजाको भन्दा पनि देशको एकीकरणमा ठूलो योगदान दिएको योद्धाको सधैं सम्झना गर्नुपर्ने भन्दै नगरपालिकाले देशलाई एकताको सुत्रमा बाँध्ने पृथ्वीनारायणको योगदानको कदर गर्दै नगरपालिकाको गेटमा शालिक राखिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।
अहिले पनि पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु उक्तिक्कै सान्दर्भिक रहेको उनको भनाइ छ । घुस लिने र दिने दुबै देशका शत्रु हुन लगायातका सबै दिव्य उपदेशहरु सदैव सान्र्दर्भिक रहने नगरप्रमुख पोखरेलको जोड थियो ।
यसअघि अघिल्लो प्रजातन्त्र दिवसमा समेत कन्काई नगरपालिकाले वडा न.५ मा कार्यालय अगाडि बीपी कोइरालाको समेत पूर्णकदको शालिक निर्माण गरेको थियो ।