
पथरी ,२७ पुस । प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले प्रदेशको नामाकरण छिटटै टुग्याँउने बताएकाछन् ।
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज ) को १ नम्बर प्रदेश समितिको दोश्रो प्रादेशिक महाधिबेशनको आज मोरङ्गको पथरीमा उद्घाटन गर्दे वर्तमान सरकार प्रदेशको नामाकरण छिटटै टुंग्याउन लक्षित रहेको बताए । उनले यस प्रदेश विशिष्ट प्रकृतिको भएकाले पनि यसको नामाकरण पहिचानको आधारमा राख्न उपयुक्त हुने जोड दिए ।
वर्तमान गठबन्धन सम्मिलित सरकार प्रदेशको नामकरण गर्न दलीय सहमतिको खोजी गर्न चाहेको वताउदै उनले भने , –‘जनताले प्रदेश सरकारको नाम खोजेका छन्,चार वर्षमा पनि नामाकरण गर्न नसक्नु हामी सबैको कमजोरी रहेको छ ’
विगतमा तत्कालीन नेकपाको दुई तिहाइको सरकार रहँदा प्रदेशको नामकरण राख्न सकिने भए पनि तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीका कारण प्रदेशले नाम नपाएको उनको भनाई थियो । उनले प्रदेशको नामकरण राख्न बहुमत हुदाँहुदै ओलीले पहिचानको आधारमा नामकरण राख्न नदिँदा अहिलेसम्म प्रदेशले नाम पाउन नसकेको आरोप लगाए ।
प्रदेश सरकार पहिचानको आधारमा प्रदेशको नामकरण राख्नुपर्ने पक्षमा रहेको बताउदै उनले सत्तारुढ दलले चाहेर मात्र प्रदेशको नामाकरण राख्न नपुग्ने भएकाले प्रतिपक्षी दल एमालेले सहयोग गर्नुपर्ने धारणा राखे । प्रदेशको नामाकरणमा एमाले गंभीर हुनुपर्ने उनको भनाई थियो ।
त्यस अवसरमा फोनिजले प्रकाशित गरेको आफनो मुखपत्र अग्रगामी स्मारिकाको बिमोचन गर्नुका साथै पत्रकारिताका अग्रज पत्रकारहरुलाई सम्मान प्रदान गरेका थिए । त्यस्तै, मन्त्री आङवोले फोनिजमा आवद्ध भई नेपाल पत्रकार महासंघ प्रदेश तथा एक नम्बर प्रदेशबाट केन्द्रमा निर्वाचित हुने आधा दर्जन बढी पत्रकार,फोनिज उत्कृष्ठ जिल्ला शाखाहरुलाई समेत सम्मानपत्र सम्मानित गरे ।
महाधिबेशन उद्घाटनमा फोनिजका संघीय अध्यक्ष डण्ड गुरुङ,नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलाबल्भव घिमीरे, नेपाल प्रेस यूनियनका केन्द्रीय उपाध्यक्ष विजयसन्तोषी राई,पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राई ,समाजवादी प्रेम संगठनका बन्धु पोख्रेललगायतले शुभकामना मन्तव्य राखेका थिए । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने नाराका साथ शुरु भएको महाधिबेशन उद्घाटनमा पथरीशनिश्चरे नगरको प्रथम धिमाल जातिको नृत्य , किराँत राई समुदायको साकेला , लिम्बु समुदायको च्याबु्रङ, सन्थाल, झाँगड लगायतको सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिएको थियो ।
भोलिसम्म चल्ने प्रादेशिक महाधिबेशनले फोनिजको नयाँ नेतृत्व चयन गर्ने फोनिज १ नम्बर प्रदेशका अध्यक्ष अर्जुन जम्नेली राईले बताए । महाधिबेशनमा १४ जिल्लाका १ सय ५० जना प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहेको छ ।