राजवंशी समाज विकास समितिलाई जग्गादान

गौरीगंज, २४ पुस । राजवंशी समाज विकास समिति केन्द्रीय कार्यालयको भवन निर्माणका लागि झापा,गौरीगञ्ज -६ का एक जना दाताले करिव रु ३० लाख मूल्य पर्ने तीन कठ्ठा जमीन निशुल्क उपलव्ध गराएका छन् ।
गौरीगन्ज गाउँपालिका–६ का जेष्ठ नागरिक धनञ्जयप्रसाद राजवंशी (बाबुलाल)ले सो संस्थाको भवन निर्माणका लागि तीन कठ्ठा जमीन दान दिएका हुन् ।
सञ्चारकर्मीसमेत रहेका स्थानीय आत्माराम राजवंशीका अनुसार समाजसेवी तथा धार्मिक व्यक्तित्व धनञ्जयले भवन निर्माणका लागि सोही ठाउँको तीन कठ्ठा जग्गा निःशुल्क दान दिने घोषणा गरेका छन् । उनले जग्गा दिने मञ्जुरीनामापत्र शनिवार राजवंशी समाज विकास समितिका केन्द्रीय सल्लाहकार देवीप्रसाद राजवंशीलाई हस्तान्तरण गरेका छन् ।
दाता धनञ्जयले आफनो जातिय संस्थाको भवन बनाउन व्यक्तिगत रुपले जग्गा उपलब्ध गराएको बताए । दाताले उपलब्ध गराएको जग्गामा छिटटै संस्थाको नाममा ल्याउन लागिएको सल्लाहकार देवीप्रसादले बताए ।
जग्गा संस्थाको नाममा ल्याईएपछि भवन निर्माणका लागि तयारी थालिने बुझिएको छ । भवन निर्माणका लागि संस्थाले लामो समयदेखि जग्गा दिने दाताको खोजी गरिरहेको थियो ।
जातीय उत्थानका लागि राजवंशी समुदायले संस्था नै खोलेर लामो समयदेखि विभिन्न गतिविधि गरिरहेको छ । विशेष गरेर सो समुदायको बसोबास पूर्वी नेपालको झापा , मोरङ र सुनसरीमा छ ।

Leave a Reply

Your email address will not be published.