
गौरादह , १९ पुस । नेकपा एमालेका उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमाले मात्र सच्चा असली कम्यूनिष्ट भएको भन्दै त्यसलाई सुनको संज्ञा दिएका छन् । सुन जस्तो बहुमूल्य धातु अरु नभएको भन्दै त्यही धातु नै एमाले भएको उनको टिप्पणी थियो ।
प्रेस चौतारी नेपाल झापाको नवौ जिल्ला अधिबेशनको सोमबार गौरादह ५ स्थित नमुना पाहुना घरमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे उनले विश्व राजनीति अव धु्रवीय शक्तिका रुपमा स्थापित हुदै गएको र नेपालमा समेत त्यस्तै राजनीति अवस्था देखिदै गएकाले अव समग्र कम्यूनिष्टको नेतृत्व एमालेले मात्र गर्ने शक्ति दावी गरे ।
उनले एमालेको बिकल्पमा अरु कम्यूनिष्ट समूह,गुटका रुपमा मात्र सिमीत भएकाले पनि समग्र वृहत कम्यूनिष्टलाई संगठित गर्न सक्ने भनेको एमाले मात्र भएको धारणा राखे । उनले भने , –‘एमाले सक्कली कम्यूनिष्ट हो, सक्कली कम्यूनिष्टको पक्षमा देशभरि फेरि जनलहर आएको छ । जनताले चिनीसकेका छन्, कुन असली कम्यूनिष्ट हो भनेर ’
उनले पाँच दलीय गठबन्धनको वर्तमान सरकारलाई अप्राकृतिक ,जडसुत्रवादी गठबन्धनको संज्ञा दिए । जनताको जनादेश विपरीत अप्राकृतिक रुपमा बनेको यस गठबन्धनको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउदै त्यसका लागि ताजा जनादेशमा जानुको बिकल्प नभएको उनको भनाई थियो ।शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र उपेन्द्र यादव राष्ट्रवादी नेता हुनै नसक्ने दाबी गर्दैै नेता गुरुङले पाँच दलीय गठबन्धनलाई पञ्चहरुको संज्ञा दिए ।
उनले गठबन्धनका शीर्ष नेताहरुको नाम नै किटेर उनीहरु विदेशी दलाल हुन पनि भनेका छन् । गुरुङले पाँचदलीय गठबन्धन राष्ट्रियता र समृद्ध नेपालको बाधक भएको भन्दै तिनका विरुद्ध पत्रकारहरुलाई जोडतोड साथ कलम चलाउन समेत आग्रह गरे । प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले केपी ओली बाहेक अरु कसैलाई पनि राष्ट्रवादी हुन नसक्ने भन्दै अन्य पार्टीका नेताहरुलाई विदेशीका दलाल मात्रै भएको उल्लेख गरे।
चौतारीका जिल्ला अध्यक्ष टीकाराम उप्रेतीको अध्यक्षतामा भएको उद्घाटन सभामा एमाले झापाका इन्चार्ज समेत रहेका स्थायी कमिटी सदस्य समेत अग्नि खरेल , एमाले प्रदेश कमिटीका इन्चार्ज देवराज घिमीरे, स्थायी कमिटी सदस्य तथा प्रदेश १ का सहइन्चार्ज हिक्कत कार्की, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस चौतारीका प्रदेश कमिटी इन्चार्ज लीला राज भटटराई ,महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मिना ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोहि अवसरमा चौतारीमा स्थापना गरिएको पत्रकार उपकार कोषबाट पत्रकार रोहित काफलेलाई नगद रु ५ हजार राहत सहयोग प्रदान गरिएको थियो ।करिव एक सय ५० जना पत्रकार तथा सञ्चारकर्मीहरु सहभागिता रहेको अधिबेशनको बन्दसत्रले प्रेस चौतारी झापाको नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।