
केर्खा,१८ पुस । उद्यौली पर्वको अवसर पारेर झापाको कमल गाउँँपालिका -३ स्थित केर्खामा शनिवार चासोक तङ्नाम विभिन्न कार्यक्रम गरि मनाईएको छ ।
लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ कमल गाउँसमितिले यसवर्ष पनि सामूहिक रुपमा चासोक मनाएको हो ।
केर्खा बजारसंगै रहेको खेल मैदानमा आयोजना गरिएको सो कार्यक्रममा किरात धर्म संस्कृति अनुसार उद्यौलीको पूजाआजासहित मौलिक सांस्कृतिकमूलक कार्यक्रम प्रस्तुत गरिएको थियो ।सो अवसरमा लिम्बू संस्कृतिमूलक च्याब्रुङ प्रतियोगिताको समेत आयोजना गरिएको चुम्लुङ उपाध्यक्ष समेत रहेका कार्यक्रम संयोजक मनकुमार थलङले जानकारी दिए ।
कमल भरिका ७ वटा वडाका च्याव्रुङ टोली सहभागि रहेको प्रतियोगितामा वडा न. ३ प्रथम, वडा न. ४ द्धितीय र वडा न. ७ तृतीय भए । विजेता टोलीलाई क्रमशः रु १० हजार,७ हजार र ७ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उनका अनुुसार कार्यक्रममा बिभिन्न सांस्कृतिक झाँकी ,नृत्यको प्रस्तुतिका साथै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको समेत आर्कषक प्रस्तुति रहेको थियो ।
चुम्लुङ कमलका अध्यक्ष पूण्यप्रसाद लावतीको अध्यक्षता तथा प्रदेश १ सरकारका सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यता आयोजित कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, चुम्लुङ झापाका अध्यक्ष शेसेहाङ फियाक, चुम्लुङ हङकङका पूर्व अध्यक्ष त्रिभुवन लुम्फुङ्वा, आदिबासी जनजाती गाउँ समन्वय समिति कमलका अध्यक्ष छत्र फागो लगायतले चासोक तङनामको महत्ववारे प्रष्ट्याउँदै शुभकामना व्यक्त गरेका थिए ।
अंग्र्जी वर्ष २०२२ को पावन अवसर र साहित्यकार तथा इतिहासकार स्व. इमानसिङ चेम्जोङको जन्म जयन्तीको अवसरमा आयोजित चासोक तङनाम कार्यक्रममा गायक दीपक लिम्बू, राम लिम्बु, सुमन लिम्बू, निरन्ता नेम्बाङ, यादन सेर्मा लगायतले बेजोडका साथ पालाम र आधुनिक गीत गुञ्जाएर कार्यक्रमको शोभा बढाएका थिए ।
त्यस्तै,कार्यक्रममा लिम्बू सांस्स्कृतिकमूलक च्याब्रुङ ,धान नाच, हाक्पारे स्याम्लो, ख्याली र छेलो हान्ने जस्ता संस्कृतिमूलक खेल तथा नृत्य,भेषभूषाको प्रर्दशनी समेत गरिएको थियो । कार्यक्रममा पालिका भरिका ८० बर्ष माथिका १६ जना ज्येष्ठ लिम्बू अगुवाहरुलाई समेत सम्मान गरिएको चुम्लुङ कमलकी कोषाध्यक्ष चन्द्रकला सुब्बाले जानकारी दिईन् ।




