केर्खामा पुस १७ मा चुम्लुङ्गको चासोक तङ्नाम

केर्खा,१३ पुस । उद्यौली पर्वको अवसर पारेर झापाको कमल गाउँँपालिका ३ स्थित केर्खामा यहि पुस १७ गते चासोक तङ्नाम भव्य रुपले मनाउने तयारी गरिएको छ । विगतका बर्ष झै यसवर्ष पनि लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ्ग चुम्लुङ्ग चासोक मनाउने तयारी तीव्र बनाएको हो ।
केर्खा बजारसंगै रहेको खेल मैदानमा आयोजना गरिने सो कार्यक्रममा किरात धर्म संस्कृति अनुसार उद्यौलीको पूजाआजासहित मौलिक सांस्कृतिकमूलक कार्यक्रम प्रस्तुत गरिने भएको छ । बिभिन्न सांस्कृतिक झाँकी ,नृत्यको प्रस्तुतिका साथै स्थानीयि तथा राष्ट्रिय स्तरका कलाकारहरुको समेत आर्कषक प्रस्तुति रहने चुम्लुङ्ग कमलका अध्यक्ष पूण्यप्रसाद लावतीले बताए ।
चुम्लुङ कमल गाउँ शाखा सचिव इन्द्रबहादुर सोदेम्बा लिम्बुका अनुसार कार्यक्रम सफल बनाउन उपाध्यक्ष मनकुमार थलङको संयोजकत्वमा १९ सदस्यीय एक उपसमिति गठन गरि काम तीव्र पारिएको छ । कार्यक्रममा चर्चित गायक दिपक लिम्बू ,निरन्ता लिम्बू ,भ्वाइस अफ नेपालका बिजेता राम लिम्बु,सुमन लिम्बू,राजन पन्धाकले साथ दिने छन् । त्यस्तै नृत्यमा दिपीका लिम्बू ,नृत्य निर्देशक दिनेश सुब्बाको समेत सहभागिता रहने छ ।
त्यसैगरी लिम्बू सांस्स्कृतिकमूलक च्याबु्रङ,धान नाच, हाक्पारे स्याम्लो, ख्याली र छेलो हान्ने जस्ता वडास्तरिय प्रतियोगिता समेत आयोजना गरिने जनाईएको छ । कार्यक्रम प्रदेश १ सरकारका सामाजिक विकास राज्यमन्त्री बिष्णुमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.