
झापा , १५ मंसीर । नेपाली कांग्रेस झापाका निर्वतमान सभापति उद्दव थापा प्रदेश नं १ कांग्रेस सभापति पदको उम्मेद्वारको रुपमा चुनावी मैदानमा उत्रिएका छन् ।
नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्तर्गत मंसिर १८ गते हुन गईरहेको प्रदेश १ अधिबेशनको नेतृत्वका लागि नेता थापाले उम्मेदवारी प्रस्तुत गरेका छन् ।
२०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनाका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थापा काँग्रेस अर्जुनधारा गाउँ समितिको सचिव र सभापति हुदै क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै , उनले कांग्रेस झापाको जिल्ला सचिव ,उपसभापति .हुदै दुई कार्यकाल सभापतिको कुशसलतापूर्वक जिम्मेवारी सम्हालिसकेका छन । थापाले दुईपटक संसद्को टिकट पाएता पनि उनले सफलता प्राप्त गर्न सकेका छैनन् ।
हरेक चुनावमा काँग्रेसको भारी मत वढाउन सफल रहेपनि जितको परिणाम भने हात पार्न सकेनन् । १३ औं महाधिवेशनपश्चात् नेपाली काँग्रेस झापाको राजनीतिमा पूर्वको अवधारणा अघि सारेर
जिल्लाव्यापी राजनीतिक प्रशिक्षण अभियान सञ्चालन गर्ने कार्यक्रमका परिकल्पनाकार थापा एक विकासवादी, व्यवहारिक राजनीतिका योजनाकार पनि हुन् । पाँच ‘ब’ को नीतिअन्तरगत विचारमा काँग्रेस, व्यवहारमा काँग्रेस, व्यवसायमा काँग्रेस, विकासमा काँग्रेस र विपदमा काँग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरिएका थिए । साथमा नेपाली काँग्रेसको सिद्धान्त, नीति ,विचार कार्यक्रम, इतिहास र विधानका विसयमा समेत थापाकै अगुवाइमा प्रशिक्षण कार्यक्रमहरु चलाइए । २०६१ मघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’ मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि राजाको प्रजातन्त्र अपहरण गर्नें कार्यको कडा रुपमा विरोध जनाउँदै आन्दोलन सञ्चालन गर्दा तत्कालीन शाही सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक व्यारेकको बंकरमा कठोर, अमानवीय क्रुर यातना दिएर सैन्य हिरासतमा राखेको थियो ।
वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीर मर्का बुझ्न र सहयोग गर्नसक्ने, कार्यकर्तालाई माया र न्याय गर्नसक्ने विवेकशील नेताको छवि निर्माण गरेका छन् । एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पाटी संगठनलाई विस्तार गर्न थापाले कठोर मिहेनत गरेका छन् ।
प्रजातान्त्रिक आन्दोलन र संगठन विस्तारका क्रममा संघर्षको मैदानबाट खारिएर अब्वल विकास गरेका थापा राजनीतिलाई राष्ट्रिय हित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएका छन् । काँग्रेसभित्र सबै जाति, भाषी र समुदायको उपस्थिति, सम्मान र सुरक्षामा विशेष चासो राख्ने थापा नेविसंघ इकाई हुँदै काँग्रेस पार्टीको तल्लो इकाई समितिबाट नेतृत्व विकास गर्दै राष्ट्रिय राजनीतिको वर्तमान अवस्थामा आफूलाई उभ्याउन सफल लोकतन्त्रका पहरेदार सिपाहीको रुपमा चर्चित छन् । १४ औं महाधिवेशनमा आइपुग्दा १ नम्बर प्रदेश सभापतिको उम्मेदवार बनेका थापाले विभिन्न पदमा रहेर पार्टीको नेतृत्व गरिरहँदा आफूलाई हरेक क्षणमा सहयोग गर्ने सबै नेता कार्यकर्ताहरुप्रति आभार ब्यक्त गर्दै १ नम्बर प्रदेशका नेता कार्यकर्तासँग पार्टीको नेतृत्व गर्ने अवसर दिन अपिल गरेका छन् ।