माओवादी केन्द्र दमकमा सर्वसम्मत नेतृत्व चयन हुने संकेत

दमक ,२ मंंसीर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशभरका वडाहरुमा यही मंसीर ४ गते निर्वाचन प्रणालीमार्फत वडा समितिको छनौट गर्ने भएको छ । जसअनुसार झापा जिल्लाभित्र रहेका वडाहरुमा पनि मतदाता नामावली प्रकाशन भएको छ । पार्टीले वडाको निर्वाचन सम्पन्न गर्न प्रत्येक वडामा निर्वाचन समिति खटाइसकेको छ भने आगामी मंसीर ११ गते हुने नगर र गाउँ निर्वाचनको तयारी गर्नपनि निर्वाचन समितिलाई जिम्मेवारी दिइसकेको छ ।
यसैबीच दमक नगरपालिकाभित्रका सबै वडाहरुमा बुधबार नै मतदाता नामावली प्रकाशन भएको छ । नगरको निर्वाचन समितिले मतदाता नामावलीमाथि दावी विरोध आव्हान र दावी विरोधमाथि छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने समयसीमा तोकिसकेको नेकपा माओवादी केन्द्र दमक नगर समितिका सम्मेलन आयोजक समिति संयोजक तीर्थराज बस्नेत (शंकर ) ले जानकारी दिए । उनका अनुसार सबै वडाहरुमा नामावली पठाइसकिएको र दावी विरोधको समयभित्र कुनै दावी विरोध परे छानविन गर्ने जिम्मा पनि निर्वाचन समितिलाई नै दिइसकिएको छ ।
पार्टीका प्रदेश सम्मेलन आयोजक समिति सदस्य रेवतराज पुरी (गगन)ले नगरका वडाहरुमा सर्बसम्मत नेतृत्व छनौटको प्रयास भइरहेको र दमकका धेरैजसो वडाहरुमा सर्बसम्मत नेतृत्व आउनसक्ने जानकारी दिए । माओवादी केन्द्रले चुनावी प्रक्रियाबाट नेतृत्व छान्ने अभ्यास यो पहिलो पटक हो ।
नगरमा संगठित सदस्य संख्या १५८२ रहेको छ । जसमा वडा सदस्य संख्याको प्रतिशतको आधारमा ११ जना बराबर १ जना नगर प्रतिनिधी छान्ने ब्यवस्था विधान बमोजिम हुने बताइएको छ । जस अनुसार क्रमशः वडा १ मा २३४, २ मा १८७, ३ मा ११४, ४ मा १६४, ५ मा ३१४, ६ मा ७१, ७ मा १०६, ८ मा २२८, ९ मा २२१ र १० मा ४१ जना संगठित सदस्य रहेको निर्वाचन समितिले जनाएको छ । विधानत महिला ३५ प्रतिशत, दलित २५ प्रतिशत, युवा २० प्रतिशत र मुस्लिम समुदाय भए ५ प्रतिशतको परिधी रहेको उल्लेख छ ।
पहिलो पटक निर्वाचन प्रणालीबाट नेतृत्व छनौटको अभ्यास गर्दै रहेको नेकपा माओवादी केन्द्रले ४ गते हुने वडा निर्वाचनको तयारीको लागि मंसीर १ गते नै मतदाता नामावली प्रकाशन गरिसकेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.