
पथरी शनिश्चरे, २० असोज । पूर्वी मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले आज बुधबार वडा नम्बर २ स्थित रेडस्टार बोर्डिङ स्कुलका विद्यार्थीहरुलाई नगरमा हुने न्याय सम्पादनका विषयमा जानकारी गराएकी छिन्।
सिकाईलाई थप प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको समन्वयमा विद्यालयले आयोजना गरेको ‘महिला सशक्तिकरण’ परियोजनाका सन्दर्भमा उपप्रमुख वास्तोलाले कक्षा १० का विद्यार्थीमाझ न्याय सम्पादनका विषयमा जानकारी गरााईन् । उनले महिला हिंसा सम्बन्धी नै बढी उजुरी नगरमा आउने गरेको जनाउँदै नगरले सशक्तिकरणका लागि महिलाहरुलाई चेतनामुलक र सीपमुलक तालिमहरु सञ्चालन गरिरहेको पनि उल्लेख गरिन् । उनले हाल आएर पुरुषमाथिको हिंसा समेत बढ्दै गएको जनाईन्।
न्यायिक समितिले १३ प्रकारको उजुरी हेर्न मिल्ने उल्लेख गर्दै पथरी शनिश्चरे १ नम्बर प्रदेशमै बढी उजुरी मेलमिलाप गराउने पालिका बनेको र सरकारले गरेको स्वमूल्यांकनमा पनि न्याय सम्पादनमा शतप्रतिशत अंक ल्याउन सफल भएको खुसीको अवस्था आएको उनले सुनाईन्। नगरले ‘छात्रासँग उपप्रमुख’ कार्यक्रम अघि बढाउने निर्णय गरेको जानकारी गराउँदै कुनैपनि तबरले हिंसामा पर्न नहुने र हिंसा पीडकलाई कारवाहीको दायरामा ल्याउनु पर्ने भन्दै उनले सवै पक्षलाई सचेत वन्न आग्रह गरिन् ।
उनले सरकारले सञ्चालनमा ल्याएको विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रम किशोरीहरुलाई महिनावारीको समयमा मानसिक हिंसाबाट केहि सहज बनाउने उपाय भएको पनि उल्लेख गरिन् ।
स्कुलका प्रिन्सिपल टीएन तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले उपप्रमुखसँग न्याय सम्पादन तथा महिला सशक्तिकरण सम्बन्धी जिज्ञासा राखेका थिए ।
सिकाईको दायरा फराकिलो बनाउने परियोजना अन्तर्गत सो स्कुलले भारतको एउटा स्कुलसँग भगिनी सम्बन्ध स्थापना गरेर अन्तरराष्ट्रिय स्कुल अवार्ड २०२०–२१ का लागि सिकाइको प्रभावकारितातर्फ पहिलो परियोजना ‘महिला सशक्तिकरण’ सम्बन्धी अघि बढाएको शिक्षक राजु तिम्सिनाले जनाए ।