पथरी उवासंघको साधारणसभा सम्पन्न,भदौ २८ मा निर्वाचन

छविराज ढकाल
पथरीशनिश्चरे, २६ भदौ ।
पथरी उद्योग वाणिज्य संघको १८ औं चुनावी साधारण सभा शनिवार सम्पन्न भएको छ । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उद्घाटन गर्दे नगर प्रमुख राईले नगर क्षेत्रभित्रका सम्पूर्ण उद्योगी, व्यवसायी तथा व्यापारीहरुको हक र हितका निम्ति स्थानीय सरकार सदैव लागिपर्ने बताए।
उनले आगामी दिनहरुमा समेत नगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने वचन दिदै वर्तमान कार्यसमितिले गरेको कार्य प्रगतिको समेत उच्च साह्रना व्यक्त गरे । सोहि अवसरमा विशिष्ट अतिथिको रुपमा नगरकी उप प्रमुख यमुना विष्ट वास्तोलाले नगरभित्रका समग्र उद्योग , व्यवसायी तथा व्यापारीहरूको साझा संस्थाको आसन्न निर्वाचनका लागि वाणिज्य संघको माथिल्लो पदमा महिलाहरुको उम्मेदवारी घोषणा नभएको भन्दै आपत्ति जनाएका थिए ।
उप प्रमुख वास्तोलाले वाणिज्य संघको नेतृत्व सम्हाल्ने तहमा महिलाहरुको उम्मेदवारी कम भएको भन्दै शासन र भाषण गर्ने तहमा महिलाहरुले नेतृत्वदायी अवसर नपाएसम्म व्यावसायिक महिलाहरूको आर्थिक जीवनस्तर माथि उठ्न नसक्ने औल्याईन्।
यसैगरी , संघको प्रदेश नं १ का अध्यक्ष टिका ढकालले आफ्नो प्रदेशका सम्पूर्ण उद्योगी व्यवसायीको हितमा सधैं काम गरिरहने बताए ।वरिष्ठ उपाध्यक्ष विजय डांगीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा उर्लाबारी उवा संघका प्रितम खड्गीले राम्रा ,असल र इमान्दार उद्योग व्यवसायी तथा व्यापारी उम्मेदवारहरूलाई वाणिज्य संघको आगामी कार्यकालका लागि निर्वाचित गर्न शुभकामना दिए ।
संघको आगामी कार्यकालका लागि भदौ २८ गते निर्वाचन मिति तय भएको छ । निर्वाचनमा १ हजार ७ सय २० जनाले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
संघको आसन्न निर्वाचनका लागि एमाले निकट संस्थापन प्यानल एक्लै र अन्य ४ दल सम्मिलित साझा प्यानल गरि दुई समूहले संघको विभिन्न पदमा उम्मेदवारी दिएका छन् । संघको निर्वाचन संयोजक अर्जुन कुमार बुढाथोकीले दुवै प्यानलका उम्मेदवारहरूको नामावली हिजो शुक्रबार सम्ममा प्रकाशन पनि गरिसकेका छन् ।
साधारण सभा उद्घाटन कार्यक्रममा संविधान सभाका पूर्व सभासद चण्डी प्रसाद राई , उवा संघ प्रदेश नं १ का अध्यक्ष टिका ढकाल , ईटहरी उवा संघ अध्यक्ष भीम पौडेल ,उर्लाबारी उवाका अध्यक्ष प्रितम खड्की ,दमक उवा संघका अध्यक्ष गोकूल क्षेष्ठ, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कृष्ण खड्का, एमाले नगर कमिटीका अध्यक्ष मोहन तुम्वापो , नेपाली काँग्रेसका नगर अध्यक्ष टेक बहादुर थापा, माओवादीका नगर अध्यक्ष चेत दहाल,एकीकृत समाजवादीका अध्यक्ष तुलसीराम ढकाल लगायतको उपस्थिति रहेको थियो ।
संघका अध्यक्ष दीपक बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव अशोक राईले संचालन गरेका थिए । उक्त अवसरमा संघले नगर प्रमुख राईलाई सम्मान पत्रद्वारा सम्मान प्रदान गरेको थियो ।
सोहि अवसरमा संघले सार्वजनिक गरेको आर्थिक प्रतिवेदन पुस्तिका अनुसार आर्थिक वर्ष २०७७-०७८ को २ करोड१२ लाख ३१ हजार ५ सय ५८ रूपैयाँ बराबरको वासलात पेश गरिएको थियो । ५३ लाख ५० हजार रुपैयाँमा जग्गा खरिद गरि संघको आफ्नै नीजि भवन निर्माणाधीन अवस्थामा रहेको र सोको लागि हालसम्ममा १ करोड ४९ लाख ९० हजार २ सय १७ रूपैयाँ खर्च भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.