एमाले अध्यक्ष ओली झापा आँउदै

झापा ,१८ भदौ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यक्रममा सहभागी हुन गृह जिल्ला झापा आउने भएका छन् ।
नेकपा एमाले झापाले भदौ २७ गते बिर्तामोडस्थित शाही पार्टी प्यालेसमा हुने भेलालाई सम्बोधन गर्न ओली झापा आउने कार्यक्रम रहेको एमाले झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी दिएका छन् ।
नेकपा एमाले झापा जिल्ला सचिवालयको बिहीबार बसेको बैठकले विभिन्न निर्णय गर्दै जिल्लास्तरीय बृहत कार्यकर्ता भेलामा अध्यक्ष ओलीको प्रमुख आतिथ्यता रहने जनाइएको छ । एमाले झापाको आन्तरिक एकताका रुपमा सम्पन्न बैठकले जिल्ला कमिटीको बैठक यही भदौ २१ गते गर्ने निर्णय पनि गरेको छ ।

पार्टी केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशन अनुसार २०७५ जेठ २ को साविक कमिटीको आधारमा सबै तह र जनवर्गीय संगठनहरु चलायमान गराउने निर्णय पनि बैठकले गरेको छ । पार्टीको मातहत कमिटी र जनवर्गीय संगठनहरुको अधिवेशन पार्टीले तोकेकै मितिमा सम्पन्न गर्ने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष पाठकले बताए ।
बैठकले १० बुँदेको कार्यान्वयन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, मतदाता नामावलीमा छुट भएकाहरुको नाम निर्वाचन आयोगमा गई समावेश गराउन पार्टी मातहतका निकायहरुलाई निर्देशन दिएको जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव ढुंगेलले जानकारी दिए ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज रविन कोइराला, पार्टी केन्द्रीय सदस्य तथा स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल, केन्द्रीय सदस्यहरु हिक्मत कार्की, हरिबहादुर राजवंशी लगायतका नेताहरुले पार्टीलाई एकतावद्ध ढंगबाट अघि बढाउन आ–आफ्नो ढंगबाट प्रयत्न गर्न निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published.