
काठमाडौँ, १८ भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ-नगर वडा अधिवेशन प्रारम्भ भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये अधिकांश जिल्लामा आज वडा अधिवेशन सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसको प्रारम्भिक तहको वडा अधिवेशनमा पार्टीका नेताकार्यकर्ता आफ्ना जिल्ला तथा वडामा चुनावी माहोलमा केन्द्रित भएका छन् । कतिपय वडाहरुमा सहमतिका साथ वडाको नेतृत्व चयन गरिएको छ भने कतिपय वडाहरुमा निर्वाचन प्रक्रिया भइरहेको समितिले जनाएको छ तर कति वडाहरुमा आज निर्वाचन सम्पन्न भयो भन्ने तथ्याङ्क साँझसम्म मात्र उपलब्ध हुनेछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिए।
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ-नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकभरका सबै छ हजार सात सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । यसबाहेक मनोनीत हुनेको सङ्ख्या थप रहेको छ ।
त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
महाधिवेशनअन्तर्गत गाउँ-नगर वडा अधिवेशन आज भदौ १८, गाउँ-नगरपालिका अधिवेशन भदौ २७, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १०, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो ।
वडा अधिवेशनमा नेताहरुका शुभकामना
वडा अधिवेशनका अवसरमा आज कांग्रेस नेताहरुले विभिन्न सन्देश जारी गर्दै शुभकामना दिएका छन् । प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले भिडियो सन्देश जारी गरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताउँदै स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र सङ्गठनको जग मजबुत बनाउँदै जनजनमा लोकतन्त्रको रक्तसञ्चार गर्ने उल्लेख गरे ।
लोकतन्त्रको पर्यायका रूपमा रहेको पार्टी कांग्रेसले लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँ अग्रणी साबित गर्दै आएको उल्लेख गर्दै उनले नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि कांग्रेस सधैँ अगाडि रहेको बताएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच सुरु गर्नु परेको महाधिवेशनमा सामाजिक दूरी कायम गरी सहभागी हुन अनुरोधसमेत गरे ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका छन् । लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सबल नेतृत्व आवश्यक रहेको भन्दै उनले आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गरेका छन् ।
महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई मित्रवत् बनाउँदै आपसी एकता र विश्वासमा आधारित कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नुपर्ने बताए ।
अर्का महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको वडादेखि पालिका, प्रदेशसभा, प्रतिनिधिसभा, जिल्ला, प्रादेशिक र केन्द्रीय कार्यसमिति तहसम्म लोकतान्त्रिक प्रक्रियामार्फत पार्टीका सबै तहको संरचनामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने कांग्रेस पहिलो पार्टी बन्न लागेको बताए । पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस सङ्गठनको मेरुदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला भएको भन्दै वडामा सक्षम र सशक्त नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक विधि, प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
नेता डा. शेखर कोइरालाले कांग्रेसलाई विश्वसनीय र भरोसायुक्त पार्टी बनाउनका महाधिवेशनले सहयोग पुग्ने र आन्तरिक लोकतन्त्रलाई सबल बनाउँदै पार्टीभित्र ताजा अक्सिजनको सञ्चार हुने बताए।
कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणले महाधिवेशनले आपसी सद्भाव र सहकार्यबाट नेपाली राजनीतिलाई अगाडि बढाउने विश्वास आफूले लिएको बताउँदै वडा तहको नेतृत्वमा आउने नेताहरू मुलुकको राष्ट्रियता र स्वाधीनता, सङ्घीयता र गणतन्त्रलाई बलियो बनाउने गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।