
विराटनगर,१६ भदौ । नेकपा एमाले प्रदेश १ का १० सांसदले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। उनीहरूले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्।
ती एमाले सांसदले बुधबार प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्। राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले सनाखत गरेपछि एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ।
प्रदेश सरकार जोगाउन एमालेलाई ४७ मत आवश्यक पर्छ। ९३ सदस्यीय प्रदेशसभामा हाल कायम संख्या ९२ छ। जसमा एमालेसँग सभामुखसहित ५१ सदस्य छन्। तीमध्ये एक जना सांसद गुलेफुन खातुन फौजदारी अभियोगमा अदालतले कैद सजाय सुनाएकाले फरार छिन्।
उनी अनुपस्थित रहँदा एमालेमा ५० जना सांसद थिए। यसमध्ये १० जनाले समाजवादी रोजेपछि एमालेको सांसद संख्या ४१ मा झरेको छ। यो संख्यामा एक जना सभामुख पनि छन्। बराबरी अवस्थामा निर्णायक मत दिनेबाहेक सभामुखले मतदान गर्न पाउँदैनन्। यसरी एमालेको कूल मत संख्या अब ३९ मा झरेको छ।प्रदेशसभामा कांग्रेससँग २१, माओवादीसँग १५ र जनता समाजवादीसँग ३ जना सांसद छन्।