दमक,२५ मंसीर । नेपाली कांग्रेस दमक नगर सभापतिमा राजेन्द्र सिटौलाले उम्मेदवारी दिने भएका छन् ।पार्टीको आसन्न महाधिबेशन नजिकिएसंगै दमक नगर सभापतिमा सिटौलाले दावी प्रस्तुत गरेका हुन् ।
दमक ४ वडाका सभापति समेत रहेका सिटौलाको उम्मेदवारी घोषणाले पार्टी भित्र गरमागरम बढेर गएको छ । स्पष्ट वक्ता स्वभाव भएका सिटौला पार्टी भित्र निकै हक्की मानिन्छन् । उनले कांग्रेस पार्टीलाई दमककै शक्तिशाली मात्र नभएर जनताको पार्टीका रुपमा स्थापित गर्न आफनो उम्मेदवारी रहने स्पष्ट पारेका छन् ।
१० वटा वडा रहेको दमक नगरपालिकामा पार्टीको संगठन दर्विलो बनाउन भने अनुसार काम हुन नसकेकाले संगठन निर्माणमा जोड दिदै कांग्रेसप्रति आर्कषण बढाउन नेतृत्वमा बसेर काम गरेर देखाउने उनको जोड छ । कांग्रेसमा सिटौलासहित हालका सभापति प्रकाश प्रसाई, नेविसंघ झापाका पूर्व जिल्ला सभापति पर्शुराम रिजालले समेत आकांक्षी राखेको बुझिएको छ ।
कांग्रेसको १५ औं महाधिबेशनको कार्यतालिका अनुसार प्रारम्भिक चरणमा जिल्लाको गाउँ,नगरका वडा तहमा अधिबेशन सम्पन्न हुने छ । वडा तहको अधिबेशन लगत्तै प्रदेशसभा, क्षेत्रीय अधिबेशन , प्रदेश समिति पछि केन्द्रीय महाधिबेशन सम्पन्न हुने जनाईएको छ ।