झापा,१४ मंसीर । नेकपा एमालेको ११ औ महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा भने पुरानै अनुहारहरु छानिएका छन् ।
पार्टीले युवा क्लस्टर भनेर व्यवस्था गरेपछि त्यसमा ४० वर्षभन्दा कम उमेरका युवाहरु परेपनि खुल्ला र महिलातर्फ भने विभिन्न कमिटी र पदमा बसेका पुरानै अनुहारहरु महाधिवेशन प्रतिनिधिका रुपमा निर्वाचित भएका हुन् ।
झापा क्षेत्र नं –१ मा खुल्लातर्फ राजु पोखरेल, असारु राजवंशी र लक्ष्मी राई निर्वाचित हुँदा महिलातर्फ रमा भण्डारी , जानुका ओली र युवातर्फ दीपक बराल निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्र नं–३ मा खुल्लातर्फ छविलाल चुँडाल, त्रिलोचन सापकोटा र बसन्त बानियाँ,महिलातर्फ कल्पना रेग्मी र शान्तादेवी खरेल तथा युवातर्फ अग्निप्रसाद सापकोटा(अनिल) निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्र नं –४ मा खुल्लातर्फ रोशन थोप्रा, रविन्द्र लम्साल, एलपी साँवा र हिमबहादुर कार्की ,महिलातर्फ कृष्णमाया भुजेल र गोमा रिजाल तथा युवातर्फ रोशन सुबेदी निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्र नं ५ मा खुल्लातर्फ अम्विकाप्रसाद खनाल, शिव ढुुंगेल, होमबहादुर थापा, तुलसी कार्की,महिलातर्फ अम्बिका देवी अधिकारी (गीता), नर्वदा उप्रेती गौतम र लिला ढुंगेल दाहाल तथा युवातर्फ युवराज पौडेल (विवश) निर्वाचित भएका छन् ।
त्यस्तै क्षेत्र नं २ मा पनि पुरानै अनुहारहरु आउने छाँटकाट देखिएको छ । खुल्लामा एकराज कार्की , सुवास भट्टराई , प्रेमबहादुर गिरीलगायत निर्वाचित हुने देखिएको छ । त्यस्तै महिलामा पवित्रा पाठक र पवित्रा महतारा प्रसाई तथा युवामा खगेन्द्रराज आङदम्बे (राज) निर्वाचित हुने देखिएको छ । यद्धपि विवादका कारण मतगणना रोकिएको छ । बिहानको राति २.३५ बजे स्थगित मतगणना आइतवार बिहान ८ बजेदेखि सुचारु हुने बताइएपनि अझै शुरु हुन सकेको छैन ।
झापामा दुई दलितसहित ३८ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्। दलिततर्फ सर्वसम्मत भएपछि बाँकी ३६ सिटका लागि भएको चुनावी प्रतिस्पर्धामा ९५ जना उम्मेदवार उठेका थिए।
महाधिवेशनको लोगो सार्वजनिक
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आशन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेका छन् । एमालेको महाधिवेशन प्रचार समितिद्वारा आइवार पार्टी कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सो लोगो सार्वजनिक गरेका हुन् ।
पार्टीका सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र संकल्पको कलात्मक रुप भएको उल्लेख गरिन् । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको छ ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति थियो । सोही अवसरमा महाधिवेशनकेन्द्रित जिङ्गल पनि सार्वजनिक गरियो । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि यही मङ्सिर १३ गते मातहतका कमिटीमा प्रतिनिधि छनोट सकिएको छ ।