शर्माको पार्थिव शरीरको अन्त्येष्टि,सयौ मलामी सहभागी

दमक,१२ मंसिर । नेपाली कांग्रेस झापाका पूर्व जिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्मा दाहालको मंगलवार अन्त्येष्टी गरिएको छ ।कमल ५ निवासी ८८ बर्षिय उनको उपचारका क्रममा बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा सोमबार अपरान्ह साढे ४ बजे निधन भएको थियो । दाहाल एक वर्ष यता फोक्सो लगायतको समस्याबाट पीडित थिए । प्रजातान्त्रिक योद्धा भएकाले बिर्ता सिटी अस्पतालले केही वर्ष यतादेखि उनको निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको थियो ।
कन्काई मुक्ति घाटमा मंगलवार उनको अन्त्येष्टी अघि निवासमा श्रद्धाञ्जलीका लागि पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला र पार्टी महामन्त्री विश्वप्रकाश शर्मा पुगेका थिए ।
स्व. शर्माको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउदै नेता सिटौलाले नेता दाहाल कांग्रेसका एक निष्ठावान, त्यागी भएकाले उनको योगदान सधै स्मरणीय रहने औल्याए । पार्टी भित्र उनी सच्चा ,इमान्दार नेता भएको भन्दै उनको निधनले सिंगो पार्टीमा अपुरणिय क्षति पुगेको उनको भनाई थियो ।
संक्षिप्त श्रद्धाञ्जली सभामा कांग्रेस महामन्त्री शर्माले स्व. दाहाल कांग्रेसका लागि मात्र नभएर सबैका लागि प्रेरक व्यक्तित्व भएको बताएका थिए । उनको निधनले पार्टीले एक अग्रज, अनुभवी नेतृत्वलाई सधैका लागि गुमाउनुपरेको उनले सुनाए ।
स्व. दाहालको पार्थिव शरीर घरबाट उठाएर कन्काई मुक्तिघाटमा अन्तिम संस्कार गरिएको थियो । अन्त्येष्टिमा उनका छोराहरु बिनोद,प्रमोद ,आमोदसहिततका परिवारजनले दागवत्ती दिएका थिए । उनको दाहसंस्कारमा पूर्व मन्त्री एवं कांग्रेस नेता केशबकुमार बुढाथोकीसहित जनप्रतिनिधिहरु, कांग्रेसका नेता, कार्यकर्ता, जनप्रतिनिधिहरु लगायत विभिन्न राजनीतिक दल तथा सामाजिक , शैक्षिक व्यक्तित्व, सर्वसाधारणहरुको उल्लेखीय रुपमा सहभागी भएका थिए ।
स्वर्गीय नेता शर्माको निधनमा दमक बहुमुखी क्याम्पस र कमल ५ स्थित मंगलमय माविले पनि मंगलवार एक दिनका लागि शोक विदा दिएका छन् ।
तेह्थुमको फेदापमा १९९३ असार १३ गते जन्मिएका शर्मा पार्टी प्रतिवन्धितकालमा विस २०३९ देखि ०४२ सालसम्म कांग्रेस झापाको सभापति भएका थिए । २०१२ सालमा पार्टी सदस्यता लिएका उनी २०५१ सालको संसदीय निर्वाचनमा उम्मेदवार समेत भएका थिए ।
आफनो व्यक्तिगत भोगाई, जेल जीवन र पछिल्लो राजनीतिक घटनाक्रम अवस्था समेटेर उनले केहिबर्ष अघि ‘त्यागको परिणाम ’नामक पुस्तक समेत प्रकाशन गरेका थिए । स्व. शर्माको निधनमा कांग्रेस झापाले तीन दिन सम्म शोक मनाउने भएको छ ।
नेता दाहालको निधन प्रति दुःख व्यक्त गर्दै मंसिर १२ गते कांग्रेस झापाको जिल्ला कार्यालय बन्द गर्नुका साथै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको कांग्रेस झापाका सचिव कृष्ण हुँमागाईले बताए ।
यसैगरि कांग्रेस केन्द्रीय समितिले पनि मंगलवार शोक वक्तत्व निकालेर स्व. शर्माको निधन प्रति दुख प्रकट गदैं शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड्यालले स्व. शर्माको शोक वक्तव्य निकालेर उनको निधनले कांग्रेसका एक कुशल अभिभावक गुमाउनुपरेको उल्लेख छ ।यसैगरि, सामाजिक सञ्जालहरुमा समेत नेता शर्माको निधन प्रति विभिन्न क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरि सहानुभूति प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published.