श्री ५ लेखेको शिलालेख हटाइयो , कलेजलाई कारवाही हुने

बिर्तामोड, ११ मङ्सिर । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिकको शिलालेख हटाइएको छ । बिर्तामोड –१ स्थित इकम कलेजमाथि कारबाही प्रक्रिया अघि बढेपछि कलेजले हटाउन लगाएको हो ।
सो कलेजको दर्ता खारेजीका लागि प्रक्रिया पनि अगाडि बढेको बताइएको छ । कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भए जसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ गरिएको थियो ।
इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताए । पाण्डेले इकम कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताए । चौतर्फी विरोधपछि इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको थियो ।
कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन् । सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि संगै विरोध आएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताए । अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने उनले जानकारी दिए । सो कलेजले गत शनिबार पूर्वराजा ज्ञानेन्द्रबाट सालिक अनावरण गराएको थियो ।
यसअघि शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि स्पष्टीकरण सोधेका थिए । त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको थियो । इकम कलेज ८ वर्षदेखि सञ्चालनमा छ । सो कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायको कक्षा सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.