दमक,२ मंसीर । झापाको कमल गाउँपालिका -७ विष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयले मंसीर ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरि स्वर्ण महोत्सव मनाउने भएको छ ।विद्यालयमा आज स्वर्णमहोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलन गरि यहि मंसीर ५ गतेदेखि शुरु भई ७ गतेसम्म विभिन्न कार्यक्रम गरि स्वर्णमहोत्सव मनाउन तयारी गरेको जनाएको हो । स्वर्णमहोत्सव सम्पन्न गर्न सवै तयारी लगभग पूरा भएको आयोजक समितिका संयोजक समेत रहेका विद्यालयका अध्यक्ष ओमनाथ तिम्सिनाले बताए ।
उनले स्वर्णमहोत्सव तयारीका बारेमा जानकारी गराएका थिए । स्वर्णमहोत्सव सफल बनाउन मूल आयोजक समितिसहित विभिन्न उपसमितिहरुले धमाधम काम गरिरहेको उनले बताएका छन् ।
पत्रकार सम्मेलनमा विद्यालयकी प्रधानाध्यापक इन्दिरादेवी खनालले स्वर्णमहोत्सवका सन्दर्भमा विद्यालयले प्रकाशन गर्ने स्मारिका तथा विद्यालयको शैक्षिक विषयमा जानकारी गराएकी थिइन् । उनका अनुसार अंग्रेजी माध्यमबाट पठनपाठन हुने यस विद्यालयमा ३ सयका हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । कक्षा ८ सम्म पढाई हुने यस विद्यालयमा ४ जना स्थायी शिक्षक, पालिकाबाट २ शिक्षक र थप ९ जना निजी स्रोतबाट शिक्षकहरु सेवारत छन् । प्रअ खनाल स्मारिका प्रकाशन उपसमितिकी सम्पादक हुन् ।
सोहि अवसरमा विद्यालयका सदस्य समेत रहेकी स्वर्णमहोत्सव आर्थिक उपसमितिका संयोजक सन्तोष राईले स्वर्णमहोत्सव सफल बनाउन विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोगको विवरण सुनाएका थिए । हालसम्म उपसमितिमा ४ लाख १५ हजार बढी सहयोग संकलन भएको उनको भनाई छ ।
व्रिटीस तथा भारतीय भुपु सैनिकहरुको पहलमा २०३० सालमा स्थापना भएको यस विद्यालयले विद्यालय स्थापनाको ५० बर्ष पुगेको उपलक्ष्यमा पहिलोपटक स्वर्णमहोत्सवको आयोजना गरेको उनले बताए ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा हुने स्वर्णमहोत्सवमा दाता गुरुङबाट निर्माण गरिएको नवनिर्मित स्वर्णमहोत्सव स्तंभको अनावरण , स्मारिका लोकापर्ण , खेलकुद ,सम्मान लगायतका विबिध कार्यक्रमका गरि ७ गते भने पालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको उपस्थितिमा औपचारिक रुपमा समापन गरिने अध्यक्ष तिम्सिनाले बताए ।
पत्रकार सम्मेलनमा सिंहदेवी विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुभक्त लामिछाने, सञ्चालक समितिका सदस्य जेवी राई, सदस्यहरु, शिक्षकहरु लगायततको उपस्थिति रहेको थियो ।