कमलमा जेइ रोगको नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अभिमुखीकरण

दमक,३ मंसीर । जिल्लाको कमल गाउँपालिकामा जापानिज इन्सेफलाइटिस (जेइ) रोगको नियन्त्रण, निवारण तथा उन्मूलनका लागि रोगसम्बन्धी सर्भिलेन्स तथा खोप अवस्थाको अनुगमन गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूका लागि अभिमुखीकरण प्रदान गरिएको छ ।

कमल गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय झापा र आड्रा नेपालको समन्वयमा भएको सो अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई, प्रमुख प्रशासकीय अधिकृत सुमन यङ्या, स्वास्थ्य शाखा प्रमुख दीपक प्रसाद दहाल, जनस्वास्थ्य निरीक्षक मेनका पौडेल, जनस्वास्थ्य अधिकृत प्रकृति दाहाल, अन्य कर्मचारीहरू तथा गाउँपालिकामा कार्यरत २४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दाहालले जे.ई. रोग, यसको रोकथाम तथा नियन्त्रण, खोपको महत्व र खोपको अवस्था र आड्रा नेपालका प्रदेश अधिकृत प्रवेश रिजाल र समीर भण्डारीले सर्भिलेन्ससम्बन्धी विषयवस्तुको प्रस्तुतीकरण तथा प्राविधिक सहजीकरण गरेका थिए ।

स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार अभिमुखीकरणपश्चात् महिला स्वास्थ्य स्वयंसेविकाहरूले आगामी मंसिर १५ गतेभित्र आफ्नो कार्यक्षेत्रका घरधुरीमा पुगेर सर्भिलेन्स गर्नेछन्। एक जना महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो टोलका करिब ९० घरधुरीमा पुगेर ५ वर्षमुनिका बालबालिकाको नियमित खोप पूरा भए÷नभएको तथा ३० वर्षमाथिका नागरिकले जे.ई. खोप लगाए÷नलगाएको अवस्थाबारे जानकारी संकलन गरी प्रतिवेदन पेश गर्ने उनले जनाएका छन् ।
यस सर्भिलेन्सबाट खोप छुटेका बालबालिका तथा जे.ई. खोप नलगाएका लक्षित उमेर समूहका नागरिकको पहिचान गरी आवश्यक खोप सेवाको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published.