दमक१० कार्तिक । झापाको दमक- ९ का देशु निरौलाको हत्या प्रकरणमा जोडिएका सबैलाई राजनीतिक दबाब र प्रभाब मुक्त भएर कारवाहीको दायरामा ल्याउन माग गर्दै शनिवार पनि जारी विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
निरौला हत्यामा सम्लग्न मुख्य आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दा पीडित तथा न्यायका लागि आन्दोलित सर्वसाधारणहरुले पाँचौ दिन सम्म पनि निरन्तर प्रदर्शन जारी राखेका हुन्
इलाका प्रहरी कार्यालय दमक अगाडी प्रर्दशनमा उत्रिएका उनीहरुले दिनभरि नारावाजी गरि हत्यामा संलग्न सबैलाई कानुनको दायरामा ल्याउन माग गरेका छन् । हत्यारालाई कारवाही गर्न प्रहरी गंभीर नभएको भन्दै दबाबस्वरुप प्रदर्शनकारीहरुले प्रहरी कार्यालय गेट अगाडीनै टायर बालेर प्रदर्शन गरेका छ्न । प्रर्दशनका क्रममा उनीहरुले मान्छे मार्न पाइदैन , यस्तो डिएसपी चाहिदैन जस्ता नारा लगाउदै विरोध जनाएका छन् ।
कार्यलय भित्र डिएसपी निशान थापाले दमक नगरपालिकाका प्रमुख रामकुमार थापा , उपप्रमुख रेगिना भट्टराई प्रसाई , वडाध्यक्ष भिम पौडेल लगायत जनप्रतिनिधिहरुसंग घटनाका बारेमा प्रहरी अनुसन्धानमा भईरहेको प्रगतिबारेमा जानकारी गराएका बताइएको छ । डिएसपी थापासगको छलफलका बीच बाहिर निस्किएका वडाध्यक्ष पौडेलले प्रहरी अनुसन्धानलाई दबाब र प्रभाव मुक्त भएर अघि बढाउन सुझाइएको जानकारी दिए ।
सो प्रकरणमा जोडिएका दमकका बुद्धिमान थापा र नम चेम्जोङको नाम किटानी जाहेरीबाट हटाउनुपर्ने दबाब थापाका सहोदर भाई गोबिन्द थापाले मृतक निरौला परिवारलाई दबाब दिएका कारण प्रहरीको भूमिकामाथि आशङ्का बढिरहेको छ । यसैवीच, प्रहरीले हत्या प्रकरणमा संलग्न भएको आशंकामा केहि सवारी साधनलाई नियन्त्रणमा लिएको छ । मृतकका दाजु नवराजले बरु भाईको हड्डी मात्रै उठाउने तर हत्यारा नसमाते सम्म निरौलाको शव नबुझ्ने अडान लिइरहेका छन् ।गत मंगलवार दमक ३ स्थित मावा पुल नजिकै जग्गा सम्बन्धी विवादका क्रममा निरौलालाई ७ जनाले कुटपीट गरि हत्या गरेका थिए । हत्यामा संलग्न सवैलाई कारवाहीका लागि कर्तव्य ज्यान सम्बन्धी कसुरमा ७ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिए भने अपराधी पक्राउ गर्न सकेको छैन् ।