लगनशील कृषि सहकारीको रक्तदान, ५१ पिन्ट रगत संकलन

कमल,१९ असोजझापाको कमल–५ स्थित लगनशील कृषि सहकारी संस्थाले आज आयोजना गरेको खुला रक्तदानमा ५१ पिन्ट रगत संकलन भएको छ ।
सहकारीले आफनो १४ औं साधारणसभाको अवसर पारेर बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष नियमित रुपमा रक्तदान कार्यक्रम गरिआएको संस्थाका सचिव भिष्मप्रसाद सिटौलाले गरेका थिए । जसअन्तर्गत आज १० महिलासहित ५१ जनाले रगतदान गरेका हुन् ।
यसरी रक्तदान गर्नेमा संस्थाका पूर्व अध्यक्ष समेत रहेका कमल ५ का वडाध्यक्ष डम्बरबहादुर निरौला,संस्थाका अध्यक्ष एलवी विष्ट ,सचिव भिष्मप्रसाद सिटौला, व्यवस्थापक तिलक कार्की, सञ्चालक, कर्मचारी तथा शेयर सदस्यहरुले रगत दान गरेका थिए । रक्तदाताहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष निरौलाले प्रंशसा पत्र वितरण गरेका थिए ।

संस्थाको शिक्षा तथा स्वास्थ्य उपसमितिकी संयोजक शोभादेवी गजुरेलको अध्यक्षता तथा संस्थाको प्राङ्गणमा सम्पन्न रक्तदानमा जिल्ला सहकारी संघ झापाका पूर्व उपाध्यक्ष बलराम गजुरेल, सल्लाहकार समिति सदस्य अम्बरबहादुर कार्की, वडा समिति सदस्य गीता गजुरेल लगायतको उपस्थिति रहेको थियो । रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
साधारणसभा यही असोज २२ गते शुक्रबार हुदै छ । ७ सय ६६ जना शेयर सदस्य रहेको सो संस्थाको गत आवको शेयर पुँजी २ करोड ३३ लाख ४६ हजार २ सय पुगेको छ । त्यस्तै, संस्थाले गएको आर्थिक वर्षमा १४ करोड ५७ लाख ४७ हजार ७ सय ७४ रुपैयाँ बराबरको कारोबार गरेको छ ।
संस्थाले सदस्य केन्द्रीत बचत तथा ऋण बाहेक विगत केही वर्षदेखि दूग्ध डेरी सञ्चालन गरेको र हाल सो डेरीमा दैनिक २३७ पशुपालक किसानबाट करिव ७ सय लिटर दूध संकलन गरिरहेको साथै दूग्धजन्य वस्तुह? विक्री वितरण गर्दै आएकोछ । आगामी दिनमा डेरी उद्योग संचालन गर्ने योजना रहेको पनि प्रतिवेदनमा जनाइएको छ । वार्षिक २ हजार लिटर दूध जम्मा गर्ने किसानको पशु बिमा संस्थालेनै गरिदिने योजना रहेको छ । त्यसैगरी सो सहकारीले किसानहरुको सुविधा र हितलाई ध्यानमा राखी युरिया, डिएपी, पोटास जस्ता रासयनिक मल पनि सर्वसुलभ दरमा विक्री वितरण गर्दै आएको व्यवस्थापक तिलक कार्कीले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published.