इलाम,२७ भदौं । अटो दुर्घटनामा परेर इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीमा शुक्रबार साँझ आमा–छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा २७ वर्षीया कविता श्रेष्ठ र उनकी करिब ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार शुक्रबार साँझ पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा मधेश प्रदेश ०३–००३ ह ६९६७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब दुई मिटर तल खसेर आगलागी भएको थियो । दुर्घटनामा अटो चालकसहित छ जना घाइते भएका थिए ।
घाइतेमध्ये सुस्मिताको शुक्रबार साँझ ८ : १५ बजे र उनकी आमा कविताको शनिबार बिहान ६ बजे बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते अटो चालक फाकफोकथुम–६ पोखरी बजारका करिब ३५ वर्षीय लोकबहादुर श्रेष्ठसहित अन्य तीन जनाको उपचार भइरहेको छ । घाईतेहरुको अवस्था सामान्य रहेको छ ।
कुशे औँसीका अवसरमा बुवाको मुख हेर्न माइती जाने क्रममा आमा–छोरी दुर्घटनामा परेको खुलेको प्रहरीले जनाएको छ । आमाको माइती हाङ्मासुली रहेकाले उनीहरू त्यतर्फ जाँदै गरेको बताइएको छ । दुर्घटनापछि अटोबाट पेट्रोल लिकेज भई आगलागी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
विराटनगरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
विराटनगर महानगरपालिका–३ पोखरीया स्कुलनजिकै शनिबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–९ बसपार्कका ४५ वर्षीय रविकुमार कामत रहेका छन् ।
प्रहरीका अनुसार कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल बिहान करिब १ः५५ बजे अनियन्त्रित भएर सडकछेउको बिजुलीको पोलमा ठोक्किएको थियो।
दुर्घटनामा गंभीर घाईते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहान करिब २ः३० बजे मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले जानकारी दिए।
मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।