पथरीशनिश्चरेमा जङ्कफूड नखुवाउन विद्यालयहरूलाई निर्देशन

पथरी शनिश्चरे, २२भदौ । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्रका सबै विद्यालयलाई जङ्कफूड (पत्रुखाना ) निषेध गर्न परिपत्र गरेको छ।
शुक्रबार एक सूचना प्रकाशित गर्दै नगरको शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको परिसरमा बिक्री वितरण नगर्न निर्देशन गरेको हो।
शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत नवीन खुलाल बुढाथोकीले हस्ताक्षर गरेका सो सूचनामा नगरभित्रका सम्पुर्ण सामुदायिक तथा संस्थागत , धार्मिक , वालविकास केन्द्र तथा मन्टेश्वरी विद्यालयहरू समेतलाई जङ्कफूड बिक्री नगर्न र नखुवाउन अनुरोध गरिएको छ।
निषेधित क्षेत्रमा जङ्कफूड वेचविखन भए गरेको पाइएमा नियमानुसार कारबाही हुने चेतावनी पनि दिईएको छ।
विभिन्न विद्यालयहरूमा विद्यालयको हाताभित्र ज‌ङ्कफूड बिक्री वितरण गरेको पाईएको भन्दै विद्यालयको नजिकैका पसलहरूमा समेत विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पुन्याउने खानेकुराहरू बिक्री वितरण हुने गरेको जनगुनासो प्राप्त भएकाले विद्यालयको हाताभित्र जङ्कफूड पूर्ण रूपमा निषेध गर्नुहुन साथै विद्यालयको गेट नजिक समेत त्यस्ता खाना र खाजा पूर्ण रूपमा निषेध गर्ने सूचना अनिवार्य रूपमा टाँस गरी सोको अनुगमन समेतको व्यवस्था गर्नुहुन अनुरोध छ ।
यसैगरी,सो प्रकाशित सूचना मार्फत् विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका, २०७७ को दिवा खाजा मेनु वा विद्यालय आफैले तयार गर्ने, खाजा मेनुमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिएर दिवा खाजाको रूपमा प्रयोग गर्न गराउन र जङ्कफूड पूर्ण रूपमा निषेध गर्नुहुन समेत अनुरोध गरिएको उल्लेख छ।

Leave a Reply

Your email address will not be published.