
विराटनगर, ३ भदौ । एमाले औपचारिक रुपमा विभाजन भएसँगै प्रदेश १ को सरकार परिवर्तन निश्चित भएको छ । एमालेको ओली पक्षले पार्टीका नेता भीम आचार्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव गरेको छ । तर, आचार्यले अहिलेसम्म मुख्यमन्त्री बन्ने रुचि नदेखाएको स्रोतको भनाइ छ ।
यता, मुख्यमन्त्री शेरधन राईले भने विभाजित एमाले समाजवादीमा नजाने र बहुमत शुनिश्चत गर्ने शर्तमा आफू राजीनामा दिन तयार रहेको पार्टी बैठकहरुमा बताउने गरेका छन् । तत्कालै प्रदेश १ मा एमाले ओलीपक्षले पार्टीको वा संसदीय दलको बैठक नराखेको सो नेता तथा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले बताए । ‘तत्कालका लागि पार्टीको बैठक तथा संसदीय दलको पनि बैठक राख्ने तयारी गरिएको छैन,’ उनले भने, ‘माथि भएको विभाजनको असर प्रदेशमा पनि पर्ने नै भयो, तर हाम्रो पार्टीबाटै बहुमत सावित गरेर नयाँ सरकार गठनको प्रयासमा छौं ।’
यता, माधव नेपाल समूहका भनिएका अधिकांश नेताहरु सम्पर्क बिहीन बनेका छन् । केन्द्रमा पार्टी विभाजन भइसक्दा यो प्रदेशका केही सांसद कुन पक्षमा जान्छन् अझै कुनै टुंगो भएको छैन । माधव समूहका नेता जीवन घिमिरेले निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन गएको र त्यसको टुंगो लाग्दा सबै पक्षको बाटो स्पष्ट हुने बताए । ‘निर्वाचन आयोगमा निवेदन परेको छ, अब हामी सबै छलफलको क्रममा छौं, निर्वाचन आयोगले नै दल दर्ता भइसकेपछि हामीलाई दल रोज्न २१ दिनको समय दिन्छ, त्यही समयमा हाम्रो लाइन स्पष्ट हुनेछ,’ घिमिरेले भने, ‘दल दर्ता गरिसके पनि एकताको सम्भावना टरेको छैन, पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि अब कस्तो स्टेप चाल्नुहुन्छ, सोही अनुसार हामीले सामूहिक निर्णय गरेर अगाडि बढ्छौं ।’
त्यस्तो नयाँ सरकार भीम आचार्यको नेतृत्वमा हुनसक्ने कार्कीले बताए । ‘हाम्रो पहिलो प्राथमिकता भनेको शेरधन राईकै नेतृत्वमा भए राम्रो भनेका छौं, तर पार्टीको अवस्थालाई हेरेर मुख्यमन्त्री राईले पनि राजीनामा दिन तयार भइसक्नु भएको कारण भीम आचार्यकै नेतृत्वमा बहुमतको सरकार हुनसक्छ,’ उनले भने, ‘अहिले हामीले भीम आचार्यलाई मुख्यमन्त्री बन्न प्रस्ताव पनि गरिसकेका छौं ।’ मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने मुख्यमन्त्रीले राजीनामा दिने विषयमा अहिले कुनै छलफल नभएको बताए । —हाम्रोमत बाट साभार गरिएको