दमक, ३ भदौं । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी झापा, दमककी एक महिलाको मृत्युभएको छ । आगोबाट जलेर घाईते भएकी दमक नगरपालिका वडा नं १ भानु चोक बस्ने मनोज साहकी श्रीमती ३० वर्षीया शोभा साहको आज विहान मृत्यु भएको हो । माईती घर भारत भएकी शोभालाई साहले पहिलो श्रीमतीको निधनपछि दोश्रो श्रीमतीका रुपमा केहि समय अघि मात्र विहे गरेको खुल्न आएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिम्सीनाका अनुसार घरमा कोहि नभएको अवस्थामा शोभाले हिजो सोमबार दिउँसो पेट्रोल छर्केर आफैले आफनो शरीरमा आगो लगाएकी थिईन् । स्थानीयले आगोबाट जलेको देखेपछि प्रहरीलाई खबर गरेकाथिए । आगोबाट शोभाको करिव ३० प्रतिशत बढी शरीर जल्न पुगेको थियो।
आगोको जलनबाट गंभीर घाइते भएकी शोभालाई दमक अस्पतालमा ल्याई सामान्य उपचारपश्चात थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यहाँ पनि घाईते स्वास्थ्य अवस्था थप गंभीर भएपछि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउदाँ आज विहान मृत्युभएको प्रनाउ तिम्सीनाले बताए । साह दम्पत्तीवीच केहि समय यता घरायसी विवाद भएको थियो ।
गत असार ३२ गते विहान ९ वजे तिर शोभाले पहिलो श्रीमती तर्फकी नाबालिका छोरी सुरभीलाई लिएर वेपत्ता भएकी र खोजतलासका क्रममा छ दिन पछि बालिकालाई भारतको सिलगुढीको सुर्यसेन पार्कमा एक्लै बसिरहेको अवस्थामा फेला परेकी थिइन् । शोभाले नै सुरभीलाई त्यहाँ छोडेर गएको पार्कको सिसी टिभी फुटेजको आधारमा प्रहरीले पहिचान गरेको थियो । छोरी फेला परेपछि मनोजले छोरीलाई लिएर घर आएका थिए । तर, शोभा भने त्यहाँ फेला परेकी थिइनन् ।प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालेको जनाएको छ ।