झापा,२ भदौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले यहि मंसिर २६, २७ र २८ गते पाँचौं महाधिवेशनका लागि कार्यतालिका ल्याएको छ । कांग्रेसले अनुमोदन गरी उक्त कार्यतालिका तरूण दललाई प्राप्त भएको थियो। उक्त कार्यतालिका तरूण दलले ७७ जिल्ला कार्यसमितिमा पठाइसकेको छ ।
लामो समयदेखि तरूण दलको महाधिवेशन हुन नसकेकोले कांग्रेसले निर्देशन समिति नै बनाएर महाधिवेशन गराउन लागेको हो । गत चैतभित्र कांग्रेसले १३ भ्रातृ संस्थालाई महाधिवेशन गर्न भने पनि ५ भ्रातृ संस्थाले मात्रै महाधिवेशन गरेका थिए ।
नियमित महाधिवेशन नभएका भ्रातृ संस्थामा कांग्रेसले अधिवेशन गराउन भन्दै तदर्थ समिति गठन गरेको छ । तर पटक पटक म्याद थप गर्दा पनि महाधिवेशन हुन सकेको छैन।
विद्वान गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिम पटक म्याद दिइएको थियो। जसअनुसार २०८२ भदौ १५ गतेभित्र दलको पूर्ण सदस्यता वितरण गरी वडा र पालिकाको अधिवेशन सम्पन्न गर्ने, भदौ मसान्तभित्र दलको केन्द्रीय कार्यालयबाट पूर्ण सदस्यता स्वीकृत गर्ने र क्षेत्रीय र जिल्ला अधिवेशन प्रतिनिधि अनुमोदन गरिसक्ने, कार्तिक २० गतेभित्र प्रदेश सभा निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्ने, कार्तिक मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने र मंसिर १० गतेभित्र सातै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तरुण दलले जनाएको छ ।