दमक ,१७ साउन । यहाँस्थित आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्ष २०८२। ०८३ मा १ अर्व ६३ करोड ६५ लाख ५० हजार रुपिया राजस्व संकलन गरेको छ । लक्ष्य अनुसार राजस्व संकलन प्रगति ७४.३३ प्रतिशत हो ।
कार्यालयका कर अधिकृत प्रेमप्रकाश मण्डलका अनुसार कार्यालयले गत वर्ष २ अर्व २० करोड १६ लाख ६० हजार रुपिया संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्य हासिल गर्न नसक्नु देशमा भएका राजनीतिक आन्दोलनको असर, कर दातालाई कर तिर्न उत्प्रेरणा नहुनु लगायतका मुख्य कारण भएको उनको जिकीर छ ।
कर अधिकृत मण्डलका अनुसार करदाता मध्ये आयकर वापत ८९ करोड ४५ लाख ७२ हजार,घर बहालकर वापत ४९ लाख ५७ हजार, मूल्य अभिबृद्धि कर वापत ४१ करोड ५९ लाख ४१ हजार रुपैया राजस्व संकलन गर्न सफल भएको छ ।
झापा र मोरङका १० वटा पालिकाका सेवाग्राहीलाई कर सम्बन्धी सेवा पुरयाँउदै आएको उक्त कार्यालयको हालसम्म करदाताको संख्या बढेर १ लाख ३७ हजार ९१ पुगेको छ । ती मध्ये १ लाख २८ हजार ८ सय ५१ सक्रिय करदाता र सोहि वर्ष २६ सय ८९ करदाता फर्म बन्द गरिएको उनले जनाएका छन् । करदाता मध्ये सवैभन्दा धेरै स्थायी निवृत्तभरण खाताको संख्या ७९ हजार ८ सय ४३ रहेको छ ।
त्यस्तै, व्यक्तिगत तथा व्यवसायिक पान लिने करदाताको संख्या ४७ हजार ४ सय १५, मूल्य अभिबृद्धि लिने करदाताको संख्या ५ हजार १ सय ६५ , अन्तशुल्कको कारोबार गर्ने फर्महरुको संख्या ४हजार १ सय ७० पुगेको छ । कार्यालयले सोग्राहीहरुको सुविधाका लागि स्थानीय तहमा नै स्थायी लेखा नम्बर (पान) मा दर्ता हुने व्यवस्थालाई प्रोत्साहित समेत गरिआएको छ । हालसम्म झापाको गौरादह र गौरीगञ्ज तथा मोरङको मिक्लाजुङ गाउँपालिकामा करदाता शिक्षासहित नियमानुसार दर्ता हुने व्यवस्था सञ्चालनमा रहेको उनले बताएका छन् ।