दमक ,१३ साउन । दमक नगर इसाई समाजले मंगलवार आयोजना गरेको रक्तदानमा १०२ पिन्ट रगत संकलन भएको छ ।६० औं विश्व रक्तसञ्चार स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको वृहत रक्तदानमा ४० महिलासहित कुल १०२ जनाले रक्तदान गरेका कार्यक्रम संयोजक युवराज गजमेरले जानकारी दिए । उक्त रक्तदान इसाई समाजको ४८ औं पटक हो ।
समाजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत हरेक बर्ष रक्तदान कार्यक्रम गरिआएको अध्यक्ष हेमन्त सुब्बाले जनाएका छन् । रक्तदानमा इसाई धर्मावलम्बीहरु, विभिन्न सामाजिक संघसंस्थाम प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा धार्मिक सहिष्णुता, मानवीय सेवा र सामाजिक उत्तरदायित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्ष पनि रक्तदानसहित सम्मान कार्यक्रमलाई निरन्तरता दिईएको समाजका पूर्व अध्यक्ष आकाश थुलुङले बताए । रक्तदानमा सहभागिहरुलाई मायाको चिनोस्वरुप फूलको विरुवाहरु हस्तान्तरण गरिएको थियो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यता तथा उपप्रमुख रेगिना भट्टराई प्रसाईको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका पूर्वअध्यक्ष तथा अन्तरधार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष राजकुमार नाछिरिङ राईले शान्ति प्रार्थना गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रममा बोल्दै उनीहरुले रक्तदानलाई जीवनदानको अभियानका रूपमा निरन्तर अगाडि बढाउँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र मानवीय सेवाको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । रक्तदान रेडक्रस दमक शाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।
खेलाडीसहित विद्यार्थीहरु पुरस्कृत
सोहि अवसरमा समाजले एक जना खेलाडीसहित तीन विद्यार्थीलाई पुरस्कृत गरेको छ । समाजले आफना सदस्यका परिवारबाट २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण भएका तीन विद्यार्थीहरूलाई सम्मान गरिएको थियो । एसईईमा उत्कृष्ट जीपीए ल्याउने नाओमी मोहरा (३.५४), रेविका लावती (३.५०) र माहेल राई (३.२९) लाई नगदसहित सम्मान गरिएको छ ।
साथै, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दोतर्फ रजत पदक जित्न सफल दमक–५ निवासी रेशिका धिमाललाई नगद १० हजार पुरस्कारसहित प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको सचिव अजय पाठकले बताए ।
