कमलमा गर्भवतीका लागि निशुल्क भिडियो एक्सरे

दमक,१४ साउन । झापाको कमल गाउँपालिकाले गर्भवती महिलाका लागि निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने भएको छ । चालु आर्थिक बर्ष २०८१ -०८२ को स्वास्थ्य सेवा तर्फको स्वीकृत कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरु लक्षित निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध गराउने कार्य शुरुवात गरिएको पालिकाले जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालका अनुसार कमलका ७ वटै वडामा हरेक महिना आठ दिनसम्म गर्भवती महिला लक्षित भिडियो एक्सरे सेवा उपलव्ध गराईने छ । भिडियो एक्सरे जाँचका लागि पालिकाले कमल नगर अस्पतालको सहकार्यमा त्यस्तो सुविधा उपलव्ध गराउने तयारी गरिएको उनले बताए ।गर्भवतीका समयमा हुने स्वास्थ्य समस्यालाई बेलैमा पहिचान गरि उपचारमा प्रेरित गर्न यस किसिमको निशुल्क भिडियो एक्सरे लगायतका स्वास्थ्य सेवा विस्तार गरिएको उनको भनाई द्ध ।
उनका अनुसार कमल- ७ मा हरेक महिनाको १७ गते, ६ वडामा १८ गते, २० गते कमल ५ को सिम्लेस्थित आधारभूत स्वास्थ्य केन्द्र, २१ गते कमल ५ कै आधारभूत स्वास्थ्य केन्द्रमा निशुल्क भिडियो एक्सरे सेवा उपलव्ध हुने छ । त्यसैगरि, कमल -४ को स्वास्थ्य केन्द्रमा २२ गते, २३ गते कमल -३ को स्वास्थ्य केन्द्र ,२४ गते कमल- २ को कमल नगर अस्पताल र २५ गते कमल -१ को स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा उपलव्ध हुने उल्लेख छ । उक्त कार्यक्रम चालु साउन महिनादेखि सञ्चालनमा आउने पालिकाद्धारा जारी सूचना जनाईएको छ । उक्त समयमा वडा भित्रका लक्षित महिलाहरुले त्यस्तो सुविधा लिन हुन भनिएको छ ।
पालिकाले गर्भवती महिलाका लागि यसअघि अस्पतालसम्म उपचारका लागि एम्बुलेन्स समेत निःशुल्क उपलव्ध गराउदै आएको पालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए । गर्भवती महिलाको सुरक्षित प्रजनन अधिकारलाई सहजता बनाउन यस किसिमको कार्यक्रम शुरु गरिएको उनको भनाई छ । यस कार्यक्रमबाट गर्भवतीका कारण अकालमा हुने स्वास्थ्य जोखिममा समेत सुधार आउने अपेक्षा पालिकाको छ ।
पालिकाले दुई वर्ष अघिमात्र स्वास्थ्य बिमासहितको कमल नगर अस्पतालले स्थानीयलाई स्वास्थ्य सेवा उपलव्ध गराउदै आएको छ । अस्पतालमा दैनिक २ सयका हाराहारीमा स्वास्थ्य जाँच गर्न आउने गरेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक दिपक दाहालले बताए ।

 

Leave a Reply

Your email address will not be published.