फुटबल खेल्दा भएको विवादलाई लिएर एक जनाको हत्या


उर्लावारी,१२ साउन ।
फुटबल खेल्दा भएको विवादलाई लिएर मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटमा एक किशोरको हत्या भएको छ भने एक जना घाईते भएका छन् ।
छुरा प्रहार गरेर उर्लाबारी–८ का १७ वर्षे अभिशेक चौधरीको हत्या गरिएको र एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार दिउँसो १:१५ बजेतिर भएको छुरा प्रहारबाट अभिशेष गम्भीर घाइते भएका थिए ।
ढाड लगायत शरीरका विभिन्न भागमा छुरा हानिएपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पुर्याउनसाथ झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ । स्थानीय भुरन चौधरीको घरमा बसिरहेका बेला छ,सात जनाको समूहमा रहेका युवाहरुले अभिशेकमाथि छुरा हानेका हुन सक्ने उनले बताए ।
छुरा प्रहार र आक्रमणबाट अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि घाइते भएका छन् । छुरा प्रहारबाट सुशनको पनि शरीरका विभिन्न भागमा चोट लागेको डिएसपी श्रेष्ठले बताए ।सामान्य अवस्थामा रहेका उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले घटनामा संलग्न भएको आशंकामा दुई युवालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले १८ वर्षे निशान राई र पवन कार्कीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको छ । घटनामा संलग्न अरु युवाहरु फरार रहेका कारण खोजी भइरहेको जानकारी डिएसपी श्रेष्ठले दिए । युवाहरुबीच फुटबल खेल्ने क्रममा आइतबार विवाद एवं झगडा भएको प्रहरीले बताएको छ ।

विवाद त्यतिबेलै मिलाइएको भए पनि रिसइबी साँधेर बसेको समूहले भने भोलिपल्ट अर्को पक्षका किशोरको हत्या नै गरिदिएको प्रहरीले बताए ।

Leave a Reply

Your email address will not be published.