झापा,१२ साउन । वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटदै गएको छ । वैदेशिक रोजगार विभागका अनुसारआर्थिक वर्ष २०७६-७७ मा तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७-७८ मा एक लाख ६६ हजार ३०५ जना मात्रै गएका छन् । यो सङ्ख्या दुुई लाख दुुई हजार १०८ ले कमी हो ।
कोरोनाका कारण सबैभन्दा बढी नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मुलुक कतार, मलेसिया, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई ), बहराइन, कुवेत र ओमानमा सबैभन्दा बढी घटेकोे छ । कोरोनाका कारण कतार, साउदी आरब र यूएई जाने नेपाली श्रमिकको सङ्ख्या शतप्रतिशतभन्दा बढीले कमी आएको छ । आर्थिक वर्ष २०७५-७६ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पाँच लाख सात हजार ८१७ रहेको विभागले जनाएको छ ।
विश्वव्यापी कोराना सङ्कटका कारण रोजगारीका लागि विदेश जाने नेपाली युवाको सङ्ख्यामा ठूलो कमी आउँदा पनि विप्रेषण भने बढेको नेपाल राष्ट्र बैङ्कले हालै सार्वजानिक गरेको प्रतिवेदनमा उल्लेख छ । वैदेशिक रोजगारीमा जाने समग्र युवाको सङ्ख्यालाई तुलना गर्दा खाडीका प्रमुख तीन देश कतार, साउदी अरब र यूएई जाने नेपालीको सङ्ख्या एक वर्षमा दुुई लाख ५७ हजारभन्दा कमी भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारण श्रम गन्तव्यमा जाने नेपाली श्रमिकको सङ्ख्या ह्वात्तै घटेको बताए । प्रमुख स्रोत गन्तव्य खाडी राष्ट्रमा कोरोना सङ्कटका बीच आर्थिक मन्दी भएपछि वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या घट्दै गए पनि यसका लागि सरकारले वैकल्पिक रोजगारीको व्यवस्था गर्न सकेको छैन ।
वैदेशिक रोजगारविज्ञ डा.गणेश गरुङले कोरोना सङ्क्रमणका कारण नेपालीको श्रम गन्तव्य मुुलुकमा श्रमिकको माग कम आइरहेका बेला विदेश जाने श्रमिकको सङ्ख्या घट्नुु स्वाभाविक भएको बताए । पछिल्लो पटक मलेसिया र खाडी मुुलुकमा नेपाली श्रमिकको माग कम हुन थालेकाले यसको विकल्प खोजिनुुपर्ने उनको भनाइ छ ।