मोरङ,२५ असार । छुरा प्रहारवाट मोरङको विराटनगरमा एकजना युवकको हत्या भएको छ भने दुई जना घाईते भएका छन् ।सोमबार राति करिब १० बजे विराटनगर २ स्थित सडकमा दुई समूहबीच एकापसमा झडप हुँदा एक युवकको मृत्यु र दुई युवक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए। झडपमा परेर मृत्यु हुनेमा मोरङकै कटहरी गाउँपालिका १ जमटोकीका २१ वर्षीय करण कामत रहेको उनले बताए ।
डीएसपी बस्नेतका अनुसार घाईते हुनेहरुमा ‘कटहरी–१ कै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय रहेका छन्। उनीहरुको शरीरमा धारिलो हतियारको चोट छ ।यसैवीच घटनामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। ‘गएराति देखिको खोजतलासपछि हामीले तीन युवकलाई पक्राउ गरेका छौँ,’ बस्नेतले जनाएका छन् ।
‘राति एक्कासी सडकमा भेट भएपछि दुई समूहबीच विवाद भएको र सोही क्रममा छुरा प्रहारबाट एक युवकको मृत्यु र दुई घाइते भएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए ।
पक्राउ पर्नेको नाम विस्तृत विवरण पछि सार्वजनिक गरिने प्रहरी अधिकारीको भनाई छ ।घाइते दुबै युवकलाई विराटनगरमै विराट टिचिङ अस्पतालमा सामान्य उपचार पछि प्रहरीले थप उपचारको लागि विराटनगरकै नोबेल अस्पतालमा लगेको छ। घाइतेमध्ये अमनको अवस्था चिन्ताजनक छ । मृतक कामतको छाती र कोखामा चक्कु प्रहार गरको गहिरो चोट छ। गम्भीर अवस्थाका अमनको कोखा र ढाडमा धारिलो हतियार प्रहार गरेको जस्तो चोट रहेको बस्नेतले जानकारी दिए । घाइते मण्डलको पाखुरा र ढाडमा चोट छ। घटनास्थलबाट एक थान मोवाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।