बेलबारीमा धिमाल जातिको संग्राहालय बन्ने

उर्लाबारी, २५ असार । मोरङको बेलबारी नगरपालिकाका प्रथम नागरिकको सम्मानमा नगरपालिकाले नगरको वडा नं। १० स्थित माटीगाउँमा धिमाल जिवित सङ्ग्राहालय र होमस्टे (घरवास) निर्माण गर्ने भएको छ ।

मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारी सहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । धिमाल समुदायको रितिरिवाज, परम्परा, भेषभुषा, खानपान र संस्कृति देख्न सकिने गरी धिमाल जिवित सङ्ग्राहलय निर्माण गर्न लागिएको हो ।

बेलबारी(१० को माटीगाउँ धिमाल समुदायको राजधानी मानिन्छ । एक सय १६ घरधुरी एउटै बस्तीमा रहेको धिमाल गाउँ अन्यत्र कतै पनि नरहेको माटीगाउँ टोल विकास समितिका अध्यक्ष जोगेन्द्र धिमालले बताए । उनका अनुसार माटी गाउँका दश घर होमस्टेका लागि छनौट भएका छन् । होमस्टे, धिमाल जिवित सङ्ग्राहालय र सामुदायिक भवन निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक वर्ष ०८० -०८१ मा २० लाख रुपियाँ विनियोजन गरेको थियो । उक्त रकमले डिपीआर निर्माण र देशका प्रमुख जातीय होमस्टेको स्थलगत अध्ययन भ्रमण भएको जोगेन्द्रले बताए ।

उनले मेघौलि चितवनको थारु होमस्टे, लमजुङको घलेगाउँ होमस्टेको अध्ययन भ्रमणपछि हामीले पनि केही कुरा सिक्ने अवसर प्राप्त भएको बताए । होमस्टे सञ्चालनले धिमाल जातिको सांस्कृतिक परिचय देशभर फैलिने मात्र होइन, चुल्होचौकामा काम गरिरहेका आमा, दिदीबहिनीका लागि रोजगार सिर्जना समेत हुने संभावना देखिएको उनको भनाइ छ ।

कुनै समय झापा र मोरङका भूमिपति धिमालहरू अहिले भूमिहीन बनेका छन् । धिमालहरूले आफ्नो समूदायलाई आर्थिक रुपमा परिचालन गर्न नसक्दा भूमिहीन भएको ७५ वर्षीय पदम धिमालले बताए । धिमालले भने, मेरो ३ बिघा जग्गा थियो । अहिले भुमिहीन भएको छु । छाप्रो हाल्नेसम्म घडेरी छ ।

धिमाल संस्कृति र परम्परालाई एउटै आँगनमा हेर्न मिल्ने गरी धिमाल सङ्ग्राहालय निर्माण गरिने जोगिन्द्र धिमालले बताए । बेलबारी १० माटीगाउँको राजाज्वाला धिमाल महाराजथानले चर्चेको ९ कट्ठा जग्गामा संग्राहालय र सामूदायिक भवन निर्माण हुनेछ । बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले देश मै पहिलो पटक धिमाल जातिको जिवित संग्राहालय निर्माण गर्न लागिएको बताए । एउटा जातिलाई एकै ठाउँमा बसेर चिन्न, बुझ्न र पढ्न सकियोस भनेर यो कार्यक्रम ल्याएका हौं । उनले भने, धिमाल समुदायमा सामाजिक र आर्थिक चेतना भर्ने मात्र होइन । स्वरोजगार र आत्मनिर्भर बनाउन पनि सहयोग पुग्ने छ ।आर्थिक वर्ष ०८१-०८२ मा पनि यो कार्यक्रमका लागि बजेटको सुनिश्चितता गरिएको नगर प्रमुख राईले बताए ।

स्थानीय लक्ष्मीमाया, सूर्यमाया, पदम, नगेन्द्र र शोभा धिमालले होमस्टे सञ्चालन गर्ने जिम्मा लिएकी छन् । यस्तै, मेघनाथ, सकेन्द्र, ताराबहादुर, सुशिला र उषा धिमालले हामेस्टे सञ्चालन गर्ने र होमस्टेमा धिमाल संस्कृतिका चिचिरीभात, बगिया,गेन्द्रो, चुदुर, तोये, केयाम रेथाने खानाका परिकारहरू खान पाइनेछ ।

Leave a Reply

Your email address will not be published.