दमकमा उप–प्रमुख सुरक्षित महिनावारी कार्यक्रम सञ्चालन

दमक ,२४ असार । दमक नगरपालिकाले उप–प्रमुख सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनमा ल्याएको छ । सुरक्षित महिनावारीमा जोड दिन हरेक महिलाहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड प्रदान गर्ने तथा स्वास्थ्य सचेतना समेत दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको हो ।
कार्यक्रमको नगर प्रमुख रामकुमार थापा र उप प्रमुख रेगिना भट्टराई प्रसाईले महिला स्वास्थ्य स्वमसेविकाहरुलाई सेनेटरी प्याड दिएर शुभारम्भ गरे । उनीहरुले कार्यक्रमको उद्देश्य माथि चर्चा गरेका थिए । नगर प्रमुख थापाले ‘दमक नगरबासीको स्वास्थ्य हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ यो कार्यक्रम ल्याईएकाले यसबाट नगरका महिलाहरुको स्वास्थ्यमा थोरै भएपनि सहयोग पुग्ने चर्चा गरे ।त्यसैगरि, उप प्रमुख भट्टराईले यस कार्यक्रमबाट महिलाको स्वास्थ्य सुरक्षामा सुधार आउने विश्वास व्यक्त गरिन् ।
सोहि अवसरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईले स्लाईड मार्फत नियमीत रुपमा महिनावारी हुने हुदाँका फाईदा र नहुदाँ हुन सक्ने स्वास्थ्य समस्याका विषयमा जानकारी दिएका छन् । नगरपालिकाको स्वास्थ्य केन्द्रहरुमा पुगेर महिलाहरुले निशुल्क रुपमा सेनटरी प्याड प्राप्त गर्ने गरि व्यवस्था मिलाईएको उनले बताए।
दमकमा रहेका १० वटै वडाका स्वास्थ्य केन्द्र इन्चार्ज,स्वास्थ्य स्वमसेविका तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.