झापा, २१ असार । पूर्वका आदिवासी राजवंशी समुदायको सामाजिक संस्था राजवंशी समाज विकास समितिको नयाँ नेतृत्व चयन भएको छ । झापाको गौरीगञ्जमा आज सम्पन्न राजवंशी समाज विकास समितिको सातौ एकता महाधिवेशनले कमलप्रसाद राजवंशीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
२१ सदस्यीय निर्वाचित समितिको उपाध्यक्षहरुमा डा. नुनीलाल राजवंशी , अनिल राजवंशी , महिला उपाध्यक्षमा नौताली राजवंशी , चकचकी राजवंशी र कोषाध्यक्षमा अशोककुमार राजवंशी चयन भएका छन् । यसैगरि, निर्वाचित समितिको महासचिवमा राजकुमार राजवंशी (राजासाहेब), सचिवहरुमा रुपेश राजवंशी, नरेशकुमार राजवंशी , सत्यनारायण राजवंशी र आत्माराम राजवंशी चुनिएका छन् ।
त्यस्तै सदस्यहरुमा नन्दलाल राजवंशी, प्रकाशचन्द्र राजवंशी,नारायणसिंह राजवंशी , खकेन राजवंशी, रतन राजवंशी, रघुनाथ राजवंशी,सनम राजवंशी, हिरामनी राजवंशी, मेनुका राजवंशी ,निर्मला राजवंशी लगायत निर्वाचित भएका छन् ।
सुवन्त राजवंशी र अभय राजवंशी नेतृत्वको दुईवटा समितिलाई भंग गरी एकीकृत समिति निर्माण गरिएको हो । २०७९ असार ३० र ३१ गते मोरङमा भएको संस्थाको छैटौ महाधिवेशनले सुवन्त राजवंशीको नेतृत्वमा समिति गठन गरेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै अभय राजवंशीले बिशेष अधिवेशन आयोजना गरी साउन २८ गते एउटै संस्थाको नाममा अर्को समिति बनाएका थिए । दुवै समितिले आफू आफूलाई आधिकारिक दावी गर्दै कानुनी लडाईसमेत लडेका थिए ।
समानान्तर गतिविधि गर्दै एकले अर्को समितिलाई निषेध गर्न खोजेपछि निरन्तर विवादसंगै राजवंशी जाति विभाजित भएको थियो । उक्त संस्था दुईवटा समूहमा विभाजित गरी लामो समयसम्म आधिकारिताको विवाद गर्दै आएका थिए ।
संस्थाको नयाँ नेतृत्व चयन गर्न मनोजकुमार राजवंशीको संयोजकत्वमा नरेश राजवंशी र जिवनसिंह राजवंशी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।