झापा ,२२ असार । कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षेत्रमा पर्याप्त पानी परेका कारण रोपाइँको दरमा उल्लेख्य वृद्धि भएको हो । कोशी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर हालसम्म ३१.४९ प्रतिशत धान खेतीयोग्य जमिनमा रोपाइँ सम्पन्न भइसकेको छ ।
निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीका अनुसार गत वर्ष असार २२ गतेसम्म २९.५४ प्रतिशत मात्र रोपाइँ भएको थियो । यस वर्षको प्रगति गत वर्षको सोही अवधिको तुलनामा झन्डै दुई प्रतिशतले बढी हो । प्रदेशको कुल २ लाख ७६ हजार ३८६ हेक्टर धान खेतीयोग्य जमिनमध्ये हालसम्म ८७ हजार ३३ हेक्टरमा रोपाइँ सकिएको छ ।
क्षेत्रगत रूपमा हेर्दा मध्य पहाडी जिल्लाहरूमा सबैभन्दा बढी रोपाइँ भएको देखिएको छ ।
मध्य पहाडका ८ जिल्लाहरूमा औसत ४२.७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, जसमा भोजपुरमा ७३ प्रतिशत र पाँचथरमा ५६ प्रतिशत क्षेत्रमा धान रोपिएको छ । यस्तै, उच्च पहाडी तीन जिल्लाहरू ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा औसत २३.८३ प्रतिशत रोपाइँ भएको कार्यालयले जनाएको छ ।
धान खेतीका लागि सबैभन्दा महत्वपूर्ण मानिने तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा पनि पछिल्लो दश दिनमा रोपाइँमा उल्लेख्य सुधार देखिएको छ । असार १३ गतेसम्म करिब ८ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको तराईमा असार २२ सम्म आइपुग्दा २८.१७ प्रतिशत प्रगति देखिएको छ । तराईको कुल १ लाख ९३ हजार २८५ हेक्टर जमिनमध्ये ५४ हजार ४४० हेक्टरमा रोपाइँ सकिएको छ ।
निर्देशक डाँगीले समयमै वर्षा हुनु र सिँचाइको उपलब्धताले गर्दा यस वर्ष रोपाइँमा सुधार देखिएको बताए । यसले आगामी उत्पादनमा समेत सकारात्मक प्रभाव पार्ने देखिएको छ ।
निर्देशनालयका अनुसार खोटाङमा ४४ प्रतिशत, ओखलढुङ्गामा ३३ प्रतिशत र उदयपुरमा ३१ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । नियमित वर्षा भइरहेकाले असार मसान्तसम्ममा रोपाइँको प्रतिशत अझै बढ्ने निर्देशनालयको अनुमान छ ।