२१ औं राष्ट्रिय धान दिवस : कमलमा मेसिनबाट धान रोपियो

दमक,१५ असोज । २१ औं राष्ट्रिय धान दिवस शनिवार देशभर विविध कार्यक्रम गरेर मनाइएको छ ।यसैक्रममा झापाको कमल गाउँपालिकाले “जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूलनाराका साथ राष्ट्रिय धान दिवस मनाएको छ ।
गाउँपालिकाको आयोजनामा कमल गाउँपालिका -६ स्थित लखनपुर साना किसान कृषि सहकारी संस्था तथा इन्द्रेणी कृषक समूहको व्यवस्थापनमा त्यहाँका गुरुभक्त निरौलासहितका किसानका खेतमा सामूहिक रुपमा रोपाइ गरिएको हो।
नौमति बाजागाजासहित गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले मेसिनबाट धान रोपेका थिए । मेसिनबाट धान रोप्नु भन्दा पहिले औपचारिक कार्यक्रम गरिएको थियो ।
त्यस कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष राईले कमल गाउँपालिकाले कृषिलाई प्रविधिमैत्री बनाउदैं लैजाने गरि नीति तथा कार्यक्रममा समेत समेटिएको जोड दिए ।
कार्यक्रममा उपाध्यक्ष न्यौपानेले कृषि उत्पादनमा वृद्धि गर्न पालिकाको तर्फबाट कृषकलाई अनुदान मार्फत विभिन्न यन्त्र उपकरण वितरण गर्दै आएको जानकारी दिईन् ।
कमल ६का वडा अध्यक्ष नगेन्द्र भट्टराईको अध्यक्षता सम्पन्न कार्यक्रममा वक्ताहरुले कृषिमा यान्त्रिकरण प्रयोग गरेर उत्पादनमा वृद्धि गर्न लागेमात्र कृषिमा मुहार फेर्न सकिने औल्याएका थिए ।
कार्यक्रममा कमल १ का वडाअध्यक्ष समेत रहेका आर्थिक विकास प्रमुख केदार कटुवाल,सहकारी कृषि समूहका तर्फबाट दीपक आचार्य र सहकारीका तर्फबाट शोभा उप्रेती लगायतले धान दिवसको सन्दर्भका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा कृषक समूहका प्रतिनिधि रमेश निरौलाले स्वागत मन्तव्य राखे भने सञ्चालन कृषि शाखा प्रमुख महेन्द्र बोहोराले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.