दमक, ८असार । झापा जिल्लामा सवैभन्दा धेरै ‘सिलिङ वजेट’ दमक नगरपालिकाले छुटयाएको छ ।जिल्लाका १५ वटा स्थानीय तह मध्ये दमकले वडागत ‘सिलिङ वजेट’ हालसम्मकै धेरै बृद्धि गरेको नगरपालिकाले जनाएको छ । दमकका १० वटा वडाका लागि कुल रु १६ करोड सहितको बजेट तय गरेको हो ।
आगामी आर्थिक वर्ष २०८१-८२ का लागि प्रस्तावित वजेटले अघिल्ला वर्ष झैं जनसंख्यालाई ४५ प्रतिशत, क्षेत्रफललाई ३५ प्रतिशत, गरिबीलाई १० प्रतिशत र वडागत आम्दानीलाई १० प्रतिशतका दरले वडागत बजेट सिलिङ निर्धारण गरिएको नगर उपप्रमुख एवं बजेट योजना तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाईंले बताईन् ।उनका अनुसार ती मापदण्डका आधारमा सबैभन्दा बढी क्षेत्रफल समेत रहेको वडा नम्बर ३ लाई सबैभन्दा बढी रु २ करोड ९ लाख ९४ हजार २५५ रुपैयाँको सिलिङ प्रदान गरिएको छ । यसैगरि, वडा नम्बर ९ लाई रु १ करोड ८२ लाख ४९ हजार ४१३ , वडा नम्बर २ लाई रु १ करोड ८० लाख ७६ हजार ६६ रुपैयाँ , वडा नम्बर ६ लाई रु १ करोड २१ लख ४१ हजार ९७१ रुपैयाँको सिलिङ तय भएको छ ।
गतवर्षका भन्दा यो ‘सिलिङ वजेट’ करिव २० प्रतिशत बढी हो । बिनीयोजित यस ‘सिलिङ वजेट’ जिल्लाकै स्थानीय तह मध्ये उच्च भएको दावी छ । वडाबाट ‘सिलिङ वजेट’ बृद्धि गर्न दबाबआएपछि नगरपालिकाले वडाको ‘सिलिङ वजेट’ बढाउन बाँध्य हुनुपरेको उपप्रमुख भट्टराईको भनाई छ । अन्यत्र भन्दा यस नगरपालिकाले वडाबाट गरिने काममा प्रोत्साहन स्वरुप बजेटको आकार वृद्धि गरिएको उनको भनाई छ ।
त्यसमध्येबाट वडागत बजेटमा पनि पूर्वाधारमा सबैभन्दा बढी ६० प्रतिशत छुट्याइएको छ । त्यसपछि सामाजिक विकास, स्वास्थ्य तथा शैक्षिक सुधारमा २० प्रतिशत, आर्थिक विकासमा १० प्रतिशत, मर्मत संभार र वातावरण तथा विपद् व्यवस्थापनमा ५५ प्रतिशत बजेट खर्च गर्नुपर्नै प्रावधान बनाइएको उनले जानकारी दिईन् ।
नगरपालिकाले चालु आर्थिक वर्षमा रु १ अर्ब ४९ करोड १२ लाख ३९ हजार रुपैयाँको बजेट बिनियोजन गरेको थियो । आर्थिक वर्ष ०७९-८० मा १ अर्ब ४६ करोड २४ लाख ८३ हजार ७३१ रुपैयाँको बजेट प्रस्तुत भएको थियो ।