दमक, ८ असार। झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरीहरू एकैसाथ हराएको ४ दिन बित्दा पनि पत्ता लाग्न नसकेपछि परिवारले खोजी कार्य गरिदिन प्रहरी र गाउँपालिकासँग अनुरोध गरेका छन् ।
१३ वर्षीया जेनिसा श्रेष्ठ १२ वर्षीया दीक्षा ताजपुरिया र १७ वर्षीया सोनिया रिकीयासन बुधबारदेखि बेपत्ता भएका किशोरीका परिवारले जानकारी दिएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । ३ जना एकैसाथ किशोरी हराउनु र ४ दिनसम्म फेला नपर्नु ठुलो चिन्ताको विषय बनेको छ, राईले भने ।
एकसाथ समूहमै किशोरीहरू बेपत्ता भएको जनाइएको छ । बेपत्ता किशोरीहरूको परिवार र गाउँ नै चिन्तित बनेर चारैतर्फ खोजी गरिरहेको भएपनि केही पत्ता नपाएपछि पालिका र प्रशासनको शरणमा पुगेको बताइन्छ ।
आफ्ना छोरीहरू बेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा अभिभावकले लिखित हुलिया सहितको निवेदन दिएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको र खोजीका लागि विशेष टोली नै परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष राईका अनुसार गाउँपालिकाले इलाका प्रहरी कार्यालय दमकका प्रमुख निशान थापासँग भेटेर र प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख लगायतका सुरक्षा निकायका प्रमुखसँग फोनमार्फत किशोरीको खोजीका लागि पहल गर्न अनुरोध गरिएको छ ।