दमक,५ असार । दमक नगरपालिकाले आफ्नो निजी जग्गा मिच्ने प्रयास गरेको दमक – ७ का राजनैतिक नेतृत्व प्रविण चाम्लिङले आरोप लगाएका छन् ।पालिकाले दमक ७ मा रहेको ३४४६० नम्बरको २ कठ्ठा जग्गामा आलीको बाटो भएर मानिसहरु आवातजावात गर्ने गरेपनि त्यसै जमीनलाई बाटो भनेर फैसला गरि आफनो जमीन हडप्ने चाल मात्र भएको उनले स्पष्ट पारेका छन् । उनले जग्गामै पत्रकार सम्मेलन गरि नगरपालिकाको एकपक्षीय निर्णय विरुद्ध आफूले सम्मानित अदालतमा न्यायका लागि निवेदन दिएको बताएका छन् ।
उनका अनुसार त्यही बाटो भनिएको ठाउँ सार्वजनिक बाटो कायम हुनुपर्ने भन्दै स्थानीय केहि व्यक्तिले नगरपालिकाको न्यायिक समितिमा उजुरी गरेकोमा आफूलाई थाहानै नदिई बाटो भनेर फैसाला गरेको छ । यो राजनीतिक इगोका कारण धनीपूर्जा भएको जग्गामा नगरपालिकाको न्यायिक समितिले बाटो भनी प्रहरी लगाएर जग्गाको घेराबारा भत्काउन लगाएको उनको भनाई छ ।
नगरपालिकाले एक पक्षीय निर्णयमा २०६७ सालमा आफूले खरिद गरेको जग्गामा बाटो दिनु भन्नु सरासर गलत भएको उनले बताए । नगरपालिकाले एकलौटी निर्णय गरेको र संविधानले समेत सम्पतिको हक भएकाले आफूले अदालतमा मुद्धा दर्ता गराएको उनको भनाई छ ।
यता नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिको संयोजक रेगिना भट्टराईका अनुसार स्थानीय संचालन ऐन २०७४ को दफाको ४७ (१) अनुसार दर्ता हुन आएको निवेदन अनुसार दुवै पक्ष बसी छलफल गरी घरजग्गा नक्सा पासको आधारमा निर्णय गरी बाटो खुल्ला गर्ने निर्णय गरेको बताईन् । भट्टराईका अनुसार पहिले देखि नै बाटो रहेको क्षेत्रमा बाटो बन्द गरेको भन्दै परेको उजुरीको आधारमा ऐन अनुसार चलन चल्तीको बाटो प्रयोग गर्न पाउने अधिकारको आधारमा निवेदन उपरको फैसला गरिएको बताईन् ।
नम्बरी जग्गामा बाटो रहेको भए पनि चलनचल्तीको बाटो मास्न नमिल्ने न्यायिक समितिको निर्णय रहेको छ । तर यता आफूलाई चित नबुझेकाले पुनरावेदन अदालतमा उजुरी गरेको र सो फैसला आफूले मान्ने स्पष्ट पारे ।