शहिद गेटमा क्षति नपुर्याउन माओवादीको माग

दमक,५ असार । नेकपा माओवादी र विप्लव नेतृत्वको नेकपाले माओवादी जनयुद्धसँग सम्बन्ध जोडिएको कमल ३ स्थित शहिद गेटलाई नभत्काउन अपिल गरेका छन् । काकड्भिट्टा– लौकही सडक आयोजना (पूर्वी खण्ड) को दमक ५ मा रहेको सडक कार्यालयकै प्राङ्गणमा मंगलवार कोणसभा गरेर त्यस्तो माग गरेका हुन् । उनीहरुले कार्यालयमा कर्मचारी नभेटेपछि भित्तामा ज्ञापन पत्र टाँसेर फर्किएका छन् ।
उनीहरुले सडक निर्माण गर्दा आफूहरुसँग छलफल नगरी माओवादी जनयुद्ध र लाखौं कार्यकर्ताहरुको भावना जोडिएको सहिद गेटमा क्षति नपुर्याउन भन्दै अनुरोध गरेका छन् ।
कार्यालय अगाडी गरेको कोणसभामा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले माओवादी आन्दोलनको इतिहास संरक्षित रहेको सहिद गेटका विषयमा छलफल गर्न कार्यालय आउँदा कर्मचारी भागेको भन्दै आक्रोश पोखे।
‘हामी हाम्रो सरोकार लिएको कार्यालयमा आयौं तर जिम्मेवार कर्मचारी भेटिनु भएन । भोलि गेटको बारेमा छलफल गर्नुपर्दा उहाँहरुले हामीलाई खोज्दै गेटमा आइपुग्नु पर्ने अवस्था आउँछ’, तामाङले उल्लेख गरे ।
नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता सुमन सिंहले विकाससँगै माओवादी जनयुद्धको विरासतको रूपमा स्थापित शहिद गेटको संरक्षणको सवाल प्रमुख भएर आएको भन्दै माओवादी आन्दोलनका सबै घटकहरुले सचेत रहनुपर्ने समय आएको बताए ।
जनमुक्ति सेना नेपालका अध्यक्ष नर कुमार तामाङले हिजो निरंकुश राजतन्त्र र एकात्मक व्यवस्था ध्वस्त पारेर गणतन्त्रको निम्ति लडेर माओवादीले इतिहास निर्माण गरेको स्मरण गराउँदै गणतन्त्रमा पनि इतिहास रक्षाका निम्ति लड्न तयार रहेको भन्दै चुनौती दिए ।
सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर आशिष देवले भने आफूलाई ज्ञापन पत्र बुझाउन आउने बारे कुनै सूचना नभएको बताए । गत शुक्रवार भने उहाँहरु ज्ञापन पत्र बुझाउन आउछौ भने पनि उहाँहरु नआएको इन्जिनियर देवको भनाइ छ ।
शन्तिकालमा आएपछि माओवादी पक्षले त्यहाँ दुई वटा पक्की गेट निर्माण गरेका थिए । दुवै गेटमा युद्धका क्रममा सहादत भएका लडाकुहरुको नाम लेखिएको छ । हाल हाईवे निर्माणका क्रममा ती दुवै गेट भत्कने अवस्था आएको छ ।
गेट संरक्षणका बारेमा सरकारी पक्ष, निर्माण पक्ष र माओवादी गरि तीनै पक्षले पहल लिनुपर्ने ज्ञापन पत्रमा भनिएको छ । ज्ञापन पत्रमा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य ‘अग्नि’, नेपाल कम्युनिष्ट पार्टी झापा इन्चार्ज सुमनसिंह सी, जनमुक्ति सेना नेपालका अध्यक्ष तामाङ, घाइते योद्धा प्रतिष्ठान अध्यक्ष मणिकुमार साम्पाङ, माओवादी केन्द्र इलाम सह इन्चार्ज कान्छा लावती, जनयोद्धा प्रतिष्ठानका अध्यक्ष विकास राईले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published.