झापा,२ असार । झापाको बिर्तामोड–२ चारपानेमा एक महिलामाथि सार्वजनिक रूपमा कालोमोसो दलिएको घटनामा संलग्न पाँच जनाविरुद्ध प्रहरीले भेदभाव तथा अन्य अपमानजन्य व्यवहारसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी रञ्जन अवालेका अनुसार पक्राउ परेका पाँचै जनालाई जिल्ला अदालत झापामा उपस्थित गराई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
प्रारम्भिक अनुसन्धानबाट घटना आकस्मिक नभई पूर्वयोजनाअनुसार गरिएको देखिएको प्रहरीले जनाएको छ । पीडित पक्षले सुरुमा इलाका प्रहरी कार्यालय अनारमनीमा अभद्र व्यवहारसम्बन्धी जाहेरी दिएको थियो।
तर घटनाको प्रकृति, पीडितलाई सार्वजनिक रूपमा अपमानित गर्ने उद्देश्य तथा योजनाबद्ध ढङ्गले गरिएको व्यवहारलाई आधार मान्दै प्रहरीले थप गम्भीर प्रकृतिको कसूरअन्तर्गत मुद्दा अघि बढाएको हो।
प्रहरीका अनुसार जेठ २९ गते साँझ करिब ६ः३० बजे बिर्तामोड–२ चारपानेकी २१ वर्षीया सबिना राजवंशीमाथि आक्रमण भएको थियो। पुरानो रिसइबीलाई कारण देखाउँदै एक समूहले उनलाई नियन्त्रणमा लिएर सडकछेउको बिजुलीको पोलमा बाँधेको र त्यसपछि शरीर तथा अनुहारमा कालो पदार्थ दलेर अपमानजनक व्यवहार गरेको आरोप छ ।
घटनामा संलग्न रहेको आरोपमा कन्काई नगरपालिका–८ का १८ वर्षीय समिर मुर्मु, २० वर्षीया सबिना मुर्मु, २५ वर्षीया स्वस्तिका मुर्मु, १९ वर्षीया पूजा बस्नेत तथा बिर्तामोड–२ की ४४ वर्षीया मञ्जु हस्दालाई प्रहरीले पक्राउ गरेको छ । आरोपितहरू पीडितमाथि आक्रमण गर्ने उद्देश्यसहित घटनास्थल पुगेको प्रहरीको भनाइ छ ।
उनीहरूले पीडितको चरित्रमाथि प्रश्न उठाउने शब्द लेखिएका पर्चासमेत साथमा बोकेको खुलेको छ । सार्वजनिक स्थलमै पीडितलाई नियन्त्रणमा लिएर गरिएको उक्त व्यवहारले घटनालाई सामान्य झैझगडाको सीमाभन्दा बाहिर पु¥याएको प्रहरीको निष्कर्ष छ ।