दमक ,२ असार । पूर्वका आदिवासी धिमाल समुदायको ठूलो पर्व जात्रि(सिरिजात) को अवसरमा आज मोरङ र झापाका पाँच वटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।
झापाको दमक ,मोरङको उर्लाबारी ,पथरीशनिश्चरे,बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले मंगलवार एक दिनका लागि सार्वजनिक बिदा दिएका हुन् । धिमाल समुदायले सबैभन्दा ठूलो पर्व जात्रि(सिरिजात) वैशाख २ गते लेटाङ १ राजारानीमा रहेको धिमालडाँडा ग्रामथानमा पुजाआजा गरी सुरु गरेर असार २ गते समापन हुँदै आएको छ ।
झापा,मोरङ र सुनसरीका १०४ वटा ग्रामथानमा धिमालहरूले सामुहिक रुपमा दुई महिनासम्म पूजाआजा गर्ने गर्छन् । असार २ गते धिमाल जातीय विकास केन्द्र केन्द्रीय समितिले मोरङको उर्लाबारी -३ स्थित दशबिघेमा हरेक वर्ष जात्रि समापन कार्यक्रम आयोजना गर्दै आएको छ । धिमाल जातीय विकास केन्द्रले असार २ गते कोशी प्रदेशभर सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै आएको छ ।